पोखरा– पोखराको पर्यटनको मुटु मानिने लेकसाइडलाई ‘२४ सै घण्टा जाग्ने सहर’ बनाउन व्यवसायीहरूले वर्षौँ मेहनत गरे । लामो कसरत र दबाबपछि सरकारले लेकसाइडलाई रातभर खुला राख्ने निर्णय त गर्यो, तर अहिले यही निर्णय स्थानीय बासिन्दा र ज्येष्ठ नागरिकका लागि भने ‘टाउको दुखाइ’ को विषय बनेको छ ।
रातभर हुने कोलाहलले शान्तिसुरक्षामा खलल पुगेको र जनजीवन प्रभावित भएको भन्दै लेकसाइडका ज्येष्ठ नागरिकले यो निर्णय सच्याउन माग गरेका छन् । २४ सै घण्टा खुला राख्दा असुरक्षा बढेको भन्दै ‘ज्येष्ठ नागरिक मञ्च’ ले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्मालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।
मञ्चले लेकसाइडलाई २४ घण्टा होइन, राति ११ बजेसम्म मात्रै खुला राख्न प्रशासनसमक्ष माग गरेको छ ।
‘शान्ति चाहने पर्यटक भड्किए’
लेकसाइड खुला हुँदा रमाइलो गर्ने एउटा पक्ष भए पनि यसले शान्त वातावरण रुचाउने वर्गलाई मर्का पारेको मञ्चको निष्कर्ष छ । ‘२४ घण्टा खुला हुँदा रातभरिको कोलाहलले शान्तपूर्वक सुतिरहने पर्यटक, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामा असर बढ्दै गएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हालको अवस्था नसुध्रिए पर्यटक आगमनमै कमी आउन सक्छ ।’
मञ्चका अध्यक्ष गिरिराज अधिकारीका अनुसार भूकम्प, नाकाबन्दी र कोरोना महामारीजस्ता संकटबाट भर्खरै तंग्रिन लागेको पर्यटन क्षेत्रलाई अनियन्त्रित कोलाहलले उल्टै क्षति पुर्याउन सक्ने जोखिम छ ।
मदिरा र होहल्लाको त्रास
रातभर पसल र बारहरू खुल्दा मदिरा सेवन गरी होहल्ला गर्दै हिँड्ने जमात बढेको स्थानीयको गुनासो छ । मञ्चले मदिराजन्य पदार्थ सेवन गरी सडकमा होहल्ला गर्ने प्रवृत्तिमाथि तत्काल रोक लगाउनुपर्ने माग गरेको छ ।
गत मंसिर १५ गते मञ्चले सरोकारवालासँग अन्तरक्रिया गरी राति ११ बजेपछि लेकसाइड बन्द गर्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि अहिले प्रशासनलाई गुहारिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
वर्षौँको मेहनतमाथि प्रश्न
लेकसाइडलाई चौबीसै घण्टा खुला राख्ने निर्णय पर्यटन व्यवसायीहरूको लामो समयको माग र मेहनतको प्रतिफल थियो । पर्यटकीय सहरलाई गुल्जार बनाउन र आर्थिक गतिविधि बढाउन यो निर्णय गरिएको थियो । तर, ध्वनी प्रदूषण नियन्त्रण र सुरक्षा व्यवस्थापनमा चुकेको भन्दै अहिले यसको विरोध सुरु भएको छ ।
एकथरीले ठूलो उपलब्धिका रूपमा लिएको ‘२४ घण्टा खुला लेकसाइड’ को अवधारणालाई व्यवस्थित गर्न नसक्दा स्थानीय बासिन्दा भने सास्ती खेप्न बाध्य भएका छन् ।
२२ मङ्सिर २०८२, आईतबार ०९:०० मा प्रकाशित