मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङका कर्मचारी र सुरक्षाकर्मीले भौगोलिक कठिनाइको सामना गर्नुपर्ने भएको छ । यहाँका कतिपय मतदानस्थल र केन्द्रहरू सदरमुकाम जोमसोमबाट १ सय किलोमिटरभन्दा बढीको दूरीमा रहेका छन् ।
विशेष गरी नेपाल–चीन सिमाना कोरला नाका छेउमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदानस्थल सदरमुकामबाट निकै टाढा छन् ।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार यहाँका मतदानस्थलमा पुग्न सदरमुकामबाट गाडीमै करिब ६ देखि ७ घण्टा समय लाग्छ । मतदान सकिएपछि मतपेटिका गणनास्थल (सदरमुकाम) सम्म ल्याइपुर्याउन राति १२ बज्ने अनुमान गरिएको छ ।
कोरला राजमार्गसँग जोडिएका घिलिङ, घमी र चराङजस्ता स्थानमा यातायात सहज भए पनि शाखा सडकमा रहेका मतदानस्थलमा पुग्न कठिन छ । लोघेकर दामोदरकुण्डका मतदान केन्द्र पनि १ सय किलोमिटरकै सेरोफेरोमा छन् ।
एउटा मतदानस्थल गाभियो
लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदानस्थल कायम गरिएको छ, जहाँ २ हजार ११ मतदाता छन् । अधिकारी ज्ञवालीका अनुसार लोमान्थाङ–२ को समजुङ मतदानस्थललाई सारेर सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालयमा गाभिएको छ ।
यस्तै, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ५ वडामा १ हजार ५४२ मतदाता छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका मतदानस्थलहरू जोमसोमबाट करिब ५० किलोमिटर टाढा छन् । यो पालिकामा २ हजार ८८५ मतदाता रहेका छन् ।
निर्वाचन आयोगका अनुसार जिल्लाका ५ वटा स्थानीय तहमा ३९ मतदानस्थल कायम गरिएको छ । निर्वाचनमा जिल्लाभरबाट कुल ११ हजार ३२८ मतदाता सहभागी हुनेछन् ।
४ फाल्गुण २०८२, सोमबार ०६:०९ मा प्रकाशित