प्रतिनिधिसभा निर्वाचन : २९२५ उम्मेदवार मैदानमा, आज दाबी विरोधको समय

voiceofgandaki

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज (बुधबार) उजुरी दिन सकिनेछ । निर्वाचन आउन ४३ दिन बाँकी रहँदा निर्वाचन आयोगले उम्मेदवारको अयोग्यतासम्बधी विषयमा दाबी विरोध गर्ने समय तोकेको हो ।

आयोगको कार्यतालिका अनुसार मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ ।

करिब ३ हजार उम्मेदवारी

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार देशभर शान्तिपूर्ण रूपमा सम्पन्न मनोनयन दर्तामा २ हजार ९२५ जनाको उम्मेदवारी परेको छ । जसमा २ हजार ५८९ पुरुष र ३३६ जना महिला रहेका छन् । यस्तै, अपांगता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

यस्तो छ अबको कार्यतालिका

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि माघ ८ गते साँझ ५ बजेसम्म जाँचबुझ गरी निर्णय गरिनेछ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकेको छ ।

सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा धन्यवाद दिएका छन् । उनले निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवालाको सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया