लेखनाथ ।
पोखरा–३१, बेगनासताल डुंगा व्यवसाय समितिको आयोजना र पोखरा–३१ वडा कार्यालयको सहयोगमा पेशागत व्यक्तित्व विकाससम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ । मंगलबार र बुधबार गरी दुई दिनसम्म सञ्चालित यो तालिम डुंगा व्यवसायमा संलग्न सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा–३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले प्रशिक्षकहरूबाट तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न आग्रह गरे । बेगनासतालमा डुंगा सयर गर्न विभिन्न प्रकृतिका पर्यटकहरू आउने र कहिलेकाहीँ व्यवसायमाथि लाञ्छना लगाउने गरेको आफूले अनुभव गरेको उल्लेख गर्दै अध्यक्ष कँडेलले यस्तो अवस्था आउन नदिन वडा कार्यालयले ध्यान दिने र सुरक्षा निकायले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
झरी–बादलमा मलिन अनुहारसहित व्यवसाय सञ्चालन गर्दै आएका डुंगा व्यवसाय समितिलाई वडा कार्यालयबाट ल्यापटप, लाइफ ज्याकेट र तालिमको व्यवस्था गर्न पाउँदा आफूलाई खुशी लागेको उनले बताउनुभयो। जनताको खुशी नै आफ्नो खुशी भएको उल्लेख गर्दै अध्यक्ष कँडेलले डुंगा व्यवसाय सञ्चालन गर्दा अनुशासन र व्यवस्थित प्रणाली अपनाउन आग्रह गरे । प्रशिक्षण कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपानेले डुंगा चलाउँदा ध्यान दिनुपर्ने कुरा, पर्यटकसँग कुराकानी गर्दा अपनाउनुपर्ने सावधानी र डुंगा व्यवसायसम्बन्धी विविध विषयमा प्रशिक्षण दिएका थिए । इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले तालमा डुंगा चलाउनु जोखिमपूर्ण हुने भन्दै यसका नीति–नियम, कानुनलगायत विषयमा प्रशिक्षण दिएका थिए ।
समितिका अध्यक्ष रवीन्द्र कँडेलले २०५२ सालदेखि विधिवत् दर्ता भएको संस्थाले विभिन्न कालखण्डमा उतार–चढाव पार गर्दै यो तालिमसम्म आइपुग्दा आफूलाई निकै खुशी लागेको बताए । पोखरा–३१ वडा कार्यालयका लेखा अधिकृत रवीन्द्र कपाडीले वडाको योजनाअन्तर्गत सम्पन्न कार्यक्रमको बिल–भरपाईसहित आवश्यक कागजात समयमै वडा कार्यालयमा पेस गर्न अनुरोध गरे । समितिका सहसचिव केशवराज तिवारीले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकारहरू चन्द्रकान्त बास्तोला, मैया पाण्डे र लेखा संयोजक नवराज बास्तोलाले तालिम प्रभावकारी भएको बताउँदै सिकेका कुरालाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।