पोखरा रोयल साकोसलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट वित्तीय कारोबार अनुमति

voiceofgandaki

पोखरा ।  पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले वित्तीय कारोबार गर्ने अनुमति पाएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र पाउने यो पहिलो संस्था बनेको छ । बचत तथा ऋणको मुख्य काम गर्ने सहकारीले अब वित्तीय कारोबार गर्न अनुमति लिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार पोखरा रोयल साकोसले पहिलो इजाजत पाएको हो । यो सहकारीको मुख्य कार्यालय पोखराको बुद्धचोकमा छ । 

प्राधिकरणले बुधबारदेखि इजाजतपत्र दिन थालेको हो । पोखरा रोयल साकोसले ००००२ नम्बरको इजाजतपत्र पाएको छ । प्रमाणपत्रमा यो दोस्रो देखिए पनि वास्तवमा यो नै पहिलो हो । प्राधिकरणका अनुसार ००००१ नम्बर परीक्षणका बेला ‘इन्ट्री’ भएको थियो । प्राविधिक कारणले त्यसलाई हटाउन मिलेन । त्यसैले ००००२ नम्बरको अनुमति पाउने संस्था नै पहिलो भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले गएको मंसिर १० गतेदेखि अनलाइन अभिलेखीकरण थालेको थियो । यो काम बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारीका लागि हो । अहिलेसम्म ‘सहकारी दर्ता पोर्टल’ मा १ हजार १ सय ६० सहकारी ‘इन्ट्री’ भएका छन् । तीमध्ये १ सय १३ वटा सहकारीले मात्र सम्पूर्ण प्रक्रिया पूरा गरेका छन् । प्रक्रिया पूरा गरेका संस्थाको इजाजतपत्र अनलाइन ‘सिस्टम’ बाटै जारी हुने बताइएको छ ।

सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्माले दर्ता प्रक्रियाबारे जानकारी दिए । उनका अनुसार बागमती प्रदेशबाट ५० वटा सहकारीले प्रक्रिया पूरा गरेका छन् । गण्डकी र लुम्बिनी प्रदेशबाट १७–१७ वटा सहकारी छन् । कोशी प्रदेशबाट १५ वटा सहकारी प्रक्रियामा छन् । मधेश प्रदेशबाट १० वटा सहकारीले प्रक्रिया सकेका छन् । कर्णाली प्रदेशबाट ३ वटा सहकारी छन् । सुदूरपश्चिम प्रदेशबाट २ वटा सहकारीले दर्ता प्रक्रिया पूरा गरेको अध्यक्ष शर्माले बताए । 


प्रतिक्रिया