काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूलाई बैंक खाता खोल्न र सञ्चालन गर्न सहजीकरण गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
निर्वाचन खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन उम्मेदवारले छुट्टै बैंक खातामार्फत आर्थिक कारोबार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेकाले आयोगले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो । उम्मेदवारले खर्च गर्दा तोकिएको बैंक खाता र जिम्मेवार पदाधिकारीमार्फत मात्र गर्नुपर्ने व्यवस्था मिलाइदिन आयोगले आग्रह गरेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन आचारसंहिताको दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ ।
२५ हजारभन्दा बढी सहयोग बैंकिङ प्रणालीबाटै
आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्नेछ । यदि कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक रूपमा नगद सहयोग लिएमा रसिद वा भरपाई दिनुपर्ने र उक्त रकम दल वा उम्मेदवारको तोकिएको खातामा जम्मा गर्नुपर्ने प्रावधान छ ।
यो व्यवस्था प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारका हकमा लागू हुनेछ । निर्वाचन प्रयोजनका लागि खोलिएका यस्ता खाताहरू निर्वाचन सम्पन्न भई आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहनेछन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मितव्ययी बनाउन प्रत्येक दल र उम्मेदवारका लागि अलग्गै खाताको व्यवस्था गर्न आयोगले राष्ट्र बैंकलाई भनेको हो ।
११ माघ २०८२, शनिवार ०६:३६ मा प्रकाशित