आज पनि देशका धेरै ठाउँमा असिनापानी र हावाहुरी, रातिदेखि मौसम खुल्ने

voiceofgandaki

काठमाडौं । आज पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना छ । आज रातिदेखि भने बिस्तारै मौसम खुल्दै जाने महाशाखाको भनाइ छ ।

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भएको हो । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मध्यम वर्षा हुने अनुमान छ । यी ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा तथा हिमपात हुने महाशाखाले जनाएको छ ।

पश्चिम नेपालबाट सुरु भएको वर्षा गएराति पूर्वी नेपाल पुगेको थियो । राति पूर्वका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । हिजो दिउँसो र बेलुकी पश्चिम र मध्य क्षेत्रमा पनि मध्यम वर्षा भएको थियो ।

हिजो देशका सबैजसो ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । दाङ, बुटवल र चितवनलगायतका ठाउँमा भने हिजो ठूलो हुरीबतास चलेको थियो ।


प्रतिक्रिया