अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता

voiceofgandaki

काठमाडौँ । हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण बेसक्याम्पमा सञ्चार सुविधा विस्तारका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलको ध्यानाकर्षण गराइएको छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन नेतृत्वको टोलीले मन्त्रालय पुगेर पर्यटक तथा आरोहीलाई सास्ती भएको भन्दै तत्काल इन्टरनेटसहितको टेलिकम टावर स्थापना गर्न मन्त्रीसँग माग गरेको हो ।

पर्यटकीय क्षेत्रमा सञ्चार सुविधा नहुँदा आपत्कालीन अवस्थामा उद्धारमा समेत कठिनाइ भइरहेको अध्यक्ष पुनले बताए । उनले भने, 'सञ्चार सुविधा नहुँदा अलपत्र परेका पर्यटकलाई उद्धारमा समेत कठिनाइ भइरहेकाले पहिलो प्राथमिकता सञ्चार र विद्युत रहेको छ ।' समुद्री सतहदेखि ४ हजार १ सय ५० मिटर उचाइमा रहेको बेसक्याम्प क्षेत्र सञ्चार सम्पर्कभन्दा बाहिर हुँदा पर्यटक र आरोही जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री खरेलले अन्नपूर्ण क्षेत्रको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले सोही अवसरमा नेपाल टेलिकमका इन्जिनियर जिवराज उपाध्यायलाई तत्काल टावर स्थापनाको प्राविधिक प्रक्रिया अगाडि बढाउन निर्देशनसमेत दिएका छन् । पर्यटन क्षेत्रका अभियन्ता तेज गुरुङका अनुसार मन्त्री खरेलले टावर राख्ने प्रक्रिया पूरा भएपछि आफू स्वयं अन्नपूर्ण बेसक्याम्प पुग्ने प्रतिबद्धता जनाए ।

नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने कुल ४२ किलोमिटर पदमार्गमध्ये आधाभन्दा बढी क्षेत्र सञ्चारविहीन छ । हुमखोलासम्मको २० किलोमिटर दूरीमा सञ्चार सुविधा भए पनि त्यहाँभन्दा माथिल्लो २२ किलोमिटर क्षेत्र अन्धकार छ । हुमखोलादेखि माथिका छोटेपा, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुंगा र आधार शिविरमा मोबाइल नेटवर्क नटिप्दा पर्यटन प्रवर्द्धनमा असर परेको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले पहिलो पटक मानव पाइला टेकेर इतिहास रचेका थिए । सोही कारण नारच्याङदेखि आधार शिविर जाने पदमार्गलाई 'मौरिस हर्जोग' नामकरण गरिएको छ । गाउँपालिकाले यो ऐतिहासिक पदमार्गमा विद्युत र टेलिकमको सुविधा पुर्‍याउनुका साथै थप पूर्वाधार निर्माणमा पहल गरिरहेको जनाएको छ । विशेषगरी असोज, कात्तिक तथा फागुनदेखि जेठसम्म यो क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गर्छ ।

मन्त्रीलाई ज्ञापनपत्र बुझाउने टोलीमा गाउँपालिका अध्यक्ष पुनसहित पर्यटन अभियन्ता तेज गुरुङ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, युवा व्यवसायी किरण बानियाँ र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम सहभागी थिए ।


प्रतिक्रिया