पोखरा । भीरकोट पोखरा सामीप्य सदनले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ३ व्यक्ति र १ संस्थालाई सम्मान गर्ने भएको छ । पूर्व प्रशासक कृष्णप्रसाद शर्माले दिवंगत पत्नी मुना रेग्मीको स्मृतिमा ५० लाखको कोषमार्फत सदनले सम्मान गर्न लागेको हो ।
सामीप्य समाजका अध्यक्ष श्यामप्रसाद रेग्मीका अनुसार ‘मुना—कृष्ण अक्षयकोष सञ्चालन विनियमावली २०८१’ अनुसार गठित समितिले गरेको सिफारिसका आधारमा पुरस्कार तथा सम्मान गर्न लागिएको हो । शिक्षातर्फ आँधीखोला ५ का पीताम्बर शर्मा नेपाली र साहित्यतर्फ पुतलीबजार १० का अग्रज साहित्यकार विश्वप्रेम अधिकारी सम्मानित हुने भएका छन् ।
समाजसेवातर्फ भीरकोट नगरपालिकाका पूर्व मेयर छायाराम खनालले सञ्चालन गरेको छोरेडाँडा कामधेनु गौशालालाई सम्मान गरिने भएको छ । यसैगरी कृषितर्फ भीरकोट २ मा लामो समयदेखि शान्ति फलफूल नर्सरी सञ्चालन गर्दै आएका अगुवा किसान कृष्णबहादुर अधिकारीलाई सम्मान गरिने अध्यक्ष रेग्मीले जानकारी दिए ।
पुस २६ गते पोखरामा हुने विशेष कार्यक्रममा उनीहरुलाई पुरस्कार तथा सम्मान अर्पण गरिने भएको छ । पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रडा दिलबहालदुर छेत्री संयोजक रहेको समितिको सिफारिसका आधारमा सदनले उनीहरुलाई सम्मान गर्न लागेको हो । समिति सदस्यमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकीका सचिव वासु रेग्मी र पोखरा विश्वविद्यालयका उपप्रशासक ध्रुव अर्याल सदस्य थिए । पुरस्कार राशि २५ हजार रुपैयाँ छ । अक्षयकोषबाट प्राप्त ब्याजबाट पुरस्कार प्रदान गरिने छ । आगामी दिनमा पुरस्कार राशि बढाइने अध्यक्ष रेग्मीले बताए ।
नेपाल सरकारको विशेष प्रहरी विभागका तत्कालीन कामु प्रमुख श्रीकृष्णप्रसाद शर्माले आफ्नी दिवंगत श्रीमती मुना रेग्मीको स्मृतिमा ५० लाखको कोष खडा गरेका हुन् । कोषको सञ्चालन तथा पुरस्कार प्रदान गर्न सदनले कार्यविधि बनाएको छ । पुरस्कार प्राप्त गर्न साहित्य, कला र संस्कृति, शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि—पशुपन्छी, समाजसेवा लगायतका विधामा योगदान पु¥याएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।