पोखरा ।
पोखरामा ५ करोड रुपैयाँभन्दा बढी लगानीमा राइज फिटनेसले आफ्नो सेवा विस्तार गरेको छ । फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै राइज फिटनेसले पोखराको पस्र्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी तीन स्थानमा शाखा सञ्चालनमा ल्याएको हो । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्नश्री जिमको स्थानमा आधुनिक सुविधासम्पन्न राइज फिटनेस सञ्चालनमा आएको छ ।
राइज फिटनेसका सञ्चालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरू विस्तार गरेको बताए । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय उनले वैशाख महिनामा सिर्जनाचोकमा स्थापना गरिएको शाखापछि अहिले शान्तिनगर चोकमा सेवा विस्तार गरिएको जानकारी दिए । फिटनेसका तीनै शाखामा नयाँ प्रविधिमैत्री मेसिनहरू जडान गरिएको भण्डारीको भनाइ छ ।
जिममा नयाँ सदस्यका लागि १५ देखि २० दिनसम्म प्रशिक्षकद्वारा निःशुल्क प्रशिक्षण उपलब्ध गराइने बताइएको छ । दुई जना दक्ष ट्रेनरमार्फत दैनिक तालिम प्रदान गरिने र उक्त सेवाका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने भण्डारीले बताए । फिटनेस सेवालाई सबैका लागि पहुँचयोग्य बनाउन मासिक ३ हजार रुपैयाँ र त्रैमासिक ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ग्राहकलाई थप प्रोत्साहित गर्न भर्ना शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको छ ।
राइज फिटनेसका तीनै शाखामा गरी ५÷५ जना कर्मचारी खटाइएका छन् । सञ्चालक भण्डारीका अनुसार नयाँ शाखासहित पोखरामा राइज फिटनेसमा ५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । जसमध्ये शान्तिनगर चोकको नयाँ शाखा मात्र २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । व्यवसाय विस्तारसँगै आम्दानीसमेत सन्तोषजनक रहेको उनले बताए ।
पहिले जिमप्रति ‘त्रास’ वा ‘भय’ भएको धारणा रहे पनि अहिले फिटनेस, स्वास्थ्य, शरीर नियन्त्रण र खेलकुद करिअर निर्माणका लागि जिम पस्ने संस्कार विकसित भइरहेको भण्डारी बताउँछन् । राइज फिटनेसमा १५ वर्षदेखि वृद्ध उमेर समूहसम्मका सदस्यहरू नियमित रूपमा आउने गरेका छन् । भण्डारीले भने, ‘हामीले फिटनेसलाई स्वास्थ्य सुधारको मुख्य आधारका रूपमा अघि बढाएका छौँ । खेलकुदमा व्यावसायिकता ल्याउन पनि फिटनेस अत्यावश्यक भएकाले युवा मात्र नभई सबै उमेर समूहलाई जोड्ने प्रयास गरेका छौँ ।’
फिटनेस उद्योगमा प्रतिस्पर्धा बढ्दै गए पनि ग्राहकको विश्वासलाई मुख्य आधार मान्दै राइज फिटनेसले समयअनुसार सुविधा, मेसिन, तालिम विधि र व्यवस्थापनमा निरन्तर परिवर्तन गर्दै आएको छ । ‘हामीले पहिलो शाखाबाट सुरु गरेको यात्रालाई विस्तार गर्दै पोखराका विभिन्न क्षेत्रमा सेवा पु¥याइरहेका छौँ, भविष्यमा अझ आधुनिक सेवा थप्ने योजना छ,’ भण्डारीले भने ।