काठमाडौँ
। राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने
महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक
गणतन्त्रको सफलता हो बताएका छन् ।
राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरुसँग शीतल निवासमा बुधबार भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ”, उनले भने ।
प्रदेश
प्रमुख प्रदेशको प्रमुखमात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र
प्रदेशबीचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनको भनाई थियो । “त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच
निरन्तर सम्पर्क, सम्वाद र समन्वय हुन जरुरी छ”,राष्ट्रपति पौडेलले भने । उनले प्रादेशिक कानुन निर्माणका
कामहरू चाँडै सकेर कार्यान्वयनमा जति सक्दो चाँडै लाग्छौ, परिवर्तनको लाभ जतिसक्दो चाँडो नागरिकको आँगनमा पु¥याउन सक्यो त्यति जनतामा व्यवस्थाप्रतिको भरोसा अभिवृद्धि हुन्छ, यसमा विलम्व नगरौं भनेर हाम्रोतर्फबाट झक्झकाउने काम गरौं भने
।
“प्रदेशको
संरचनाले मात्र यसको राजनीतिक महत्व स्थापित हुँदैन, यसको चरित्रलाई जनमुखी, समावेशी
र सुशासित बनाउन जरुरी छ, चरित्रको
बदलाव मुख्य कुरा हो, राजनीतिक उपलब्धिलाई नागरिकको
जीवनसँग जोडौ, प्रदेश–प्रदेशबीच स्वस्थ
प्रतिस्पर्धा गरौं, साथसाथै अन्तर प्रदेश सहकार्य र
समन्वयमा जोड दिऔं, एक आपसको सहकार्यले सबैलाई लाभ
पुग्ने छ भन्ने मलाई लाग्छ”, राष्ट्रपति
पौडेलले भने ।
प्रदेशको
आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन,
प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि
बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता उनले औंल्याए । मुख्य कुरा
नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा
प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उनको
भनाइ थियो । “खासगरी मेरो जोड सुशासन, जनतामा प्रभावकारी सेवा प्रवाह र लोकतन्त्रको सुदृढीकरणमा
केन्द्रित छ, जनस्तरमा लोकतन्त्रप्रति भरोसा
जगाउन बौद्धिक वर्ग, नागरिक समाजका अगुवालाई सम्पर्क
गर्ने र छलफल गर्ने गर्दा उपयुक्त हुन्छ भन्ने पनि म ठान्दछु”, राष्ट्रपति पौडेलले भने ।
विकास–निर्माण,
सुशासन, कृषि,
पर्यटन, शिक्षा,
स्वास्थ्य, साहित्य,
कला, संस्कृतिजस्ता
क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी
क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न उनले सुझाव दिए ।
राष्ट्रपति
पौडेलले हामी सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लागौं
भन्ने आग्रह गरे । सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरुले आफूले भोग्नुपरेका
कठिनाई, कानुन नियममा रहेका अन्यौलहरुको
बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईदिन हुन राष्ट्रपति समक्ष आग्रह गरेका
थिए ।