‘खेलकुदले शारीरिक र मानसिक विकास गर्छ’ : प्रदेश प्रमुख भट्ट

voiceofgandaki

पोखरा ।  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले खेलकुद केवल शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर मानसिक स्वास्थ्यका लागि समेत अपरिहार्य रहेको बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

विद्यार्थीलाई हौसला दिन कार्यक्रममा पुगेका भट्टले खेलकुदको सकारात्मक प्रभावले युवाको शरीर र मस्तिष्क दुवैको विकासमा टेवा पुग्ने उल्लेख गरे । उनले खेलकुदको विकास र संवर्द्धनमा जोड दिनुपर्ने बताए ।

तल्लो तहबाटै खेलाडी उत्पादन गर्ने राष्ट्रपति रनिङ शिल्डको संरचनाको उनले प्रशंसा गरे । गाउँबाट छनोट भएर जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म पुग्ने प्रक्रिया वैज्ञानिक रहेको उनको भनाइ थियो । उनले भने, ‘गाउँ तहबाटै विद्यार्थीहरूले सहभागिता जनाउन पाउने भएकाले हजारौं विद्यार्थीहरू खेलकुदमा सहभागी हुने अवसर मिलेको छ । यस प्रतियोगिताका कारण दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्दै आएको छ ।’ उनले स्थानीय खेलकुदको प्रवर्द्धन गर्नु यसको अर्को सबल पक्ष रहेको औंल्याए ।

प्रतियोगिताले विद्यार्थी, अभिभावक र जनप्रतिनिधिबीचको सम्बन्ध प्रगाढ बनाउने भट्टको तर्क छ । सानै उमेरमा खेल कौशल सिक्दा व्यक्ति परिपक्व हुने र भविष्यमा नेतृत्व लिन सक्ने उनले बताए । ‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ,’ उनले भने, ‘सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त नेतृत्व क्षमताको पनि विकास गराउँछ ।’

शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रवक्ता भरतमान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल लगायतले खेलकुदको महत्वबारे मन्तव्य राखेका थिए ।

प्रतिक्रिया