स्याङ्जा । नेपालको कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ, जसलाई महिला शारीरिक र मानसिक रूपमा सन्तान जन्माउन परिपक्व हुने समय मानिन्छ । तर, स्याङ्जामा भने यो कानुनी प्रावधानको उल्लंघन गर्दै उमेर नपुग्दै विवाह गर्नेको संख्या निकै धेरै रहेको प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।
कार्यालयको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा गर्भ जाँच गराएका कुल दुई हजार ५५९ जनामध्ये २१० जना अर्थात् ८.२० प्रतिशत महिला २० वर्षभन्दा कम उमेरका थिए ।
प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईंले दिएको जानकारीअनुसार, गर्भ जाँच गराउनेमध्ये ८८२ जनाले सुरक्षित प्रसूति सेवा लिएका थिए भने ९२४ जनाले सुरक्षित गर्भपतन गराएका थिए ।
उनले दिएको थप तथ्यांकअनुसार, सुरक्षित प्रसूति सेवा लिनेहरूमध्ये १०९ जना (१२.३५ प्रतिशत) र गर्भपतन गराउनेमध्ये ४३ जना (४.३५ प्रतिशत) २० वर्षमुनिका किशोरी थिए । चापागाईंले यो तथ्यांकले जिल्लामा कलिलै उमेरमा विवाह गर्नेको संख्या अत्यधिक रहेको स्पष्ट पार्ने बताए ।
जिल्लामा प्रदान गरिएको प्रसूति सेवामध्ये ६९५ जनाले दक्ष प्रसूतिकर्मीबाट, १६८ जनाले दक्ष स्वास्थ्यकर्मीबाट र १३ जनाले अन्य स्वास्थ्यकर्मीबाट सेवा लिएका थिए भने छ जनाको घरमै प्रसूति भएको थियो । त्यसैगरी, गर्भपतन गराउनेमध्ये ८४१ जनाले १२ हप्ताभन्दा कमको गर्भ मेडिकल विधिबाट र ८१ जनाले सर्जिकल विधिबाट पतन गराएका थिए । १२ हप्तामाथिको गर्भपतन गराउनेको संख्या दुई रहेको छ ।
यी सेवाहरू जिल्ला अस्पताल, छ वटा पालिकास्तरीय अस्पताल, दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र, तथा अन्य स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित कुल १२१ स्वास्थ्य संस्थाबाट प्रदान गरिएको थियो ।
१९ साउन २०८२, आईतबार ११:५२ मा प्रकाशित