फेवातालको मुहानमै डोजर आतङ्क : डाँडा खारेर सिमसार पुरिँदै, कारबाही गर्न माग

voiceofgandaki

पोखरा ।  पोखराको गहना मानिने फेवातालको अस्तित्व सङ्कटमा पर्ने गरी अतिक्रमण नरोकिएपछि नागरिक समाज आन्दोलित भएको छ । तालको मुख्य जलाधार क्षेत्रका डाँडा खारेर हर्पनखोला वरिपरिको सिमसार क्षेत्र पुर्ने काम भइरहेको भन्दै सरोकारवालाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै अतिक्रमणकारीलाई कारबाहीको माग गरेका हुन् ।

महाअभियानका संयोजक रामबहादुर पौडेल र नागरिक समाजका संयोजक नरेन्द्रमान लालचनले जारी गरेको विज्ञप्तिमा विश्व रामसार सूचीमा सूचीकृत तालको अस्तित्व नासिने गरी भइरहेको गतिविधि तत्काल रोक्न माग गरिएको छ ।

अदालतको आदेशको अवहेलना

डाँडा खारेर ताल तथा सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरिसकेको छ । त्यस्तै, सर्वोच्च अदालतले पनि प्रदेश सरकार, स्थानीय सरकारलगायत सरोकारवाला निकायका नाममा ताल संरक्षणका लागि निर्देशनात्मक आदेश दिएको थियो ।

अदालतको आदेशको इमानदार पालना नहुँदा एकपछि अर्को अतिक्रमणका घटना बढिरहेको अभियन्ताहरूको ठम्याइ छ । ‘विश्वकै सुन्दर तालको अस्तित्व मासिने गरी दिनदहाडै अनधिकृत रूपमा पुर्ने काम निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।

स्थानीय सरकार मूकदर्शक

पछिल्लो समय पोखरा–२३ र २४ का विभिन्न भाग तथा हर्पनखोलाको मुहान क्षेत्रमा जग्गा प्लटिङका नाममा डाँडा काट्ने र सिमसार पुर्ने क्रम बढेको छ । पानीको मूल स्रोत नै थुनिने गरी भइरहेको यो गतिविधिमा स्थानीय सरकार मूकदर्शक बनेको आरोप नागरिक समाजले लगाएको छ ।

माफियाहरूले रातको समयमा र बिदाको दिन पारेर डोजर चलाउने गरेका छन् । महानगरले कहिलेकाहीँ अनुगमन गरे पनि प्रभावकारी कारबाही हुन सकेको छैन ।

नागरिक समाजले अदालतको आदेश पूर्ण पालना गर्न प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । फेवाताल पुर्ने कार्यमा संलग्नलाई कानुनी कारबाही गरी दण्डहीनता अन्त्य गर्न उनीहरूले जोडदार माग गरेका छन् ।

फेवातालको क्षेत्रफल खुम्चिएर ५.७२६ वर्ग किलोमिटरमा सीमित भएको छ । जलाधार क्षेत्रको अतिक्रमण नरोकिने हो भने तालको आयु छोटिने निश्चित छ ।

प्रतिक्रिया