पोखरामा शनिबार ‘बुकहिल बुकान्जा’ : सौरभदेखि पुष्कर शाहसम्मका स्रष्टा जुट्दै, निःशुल्क प्रवेश

voiceofgandaki

पोखरा । पर्यटकीय नगरी पोखरामा शनिबार (२६ पुस) विशेष साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ आयोजना हुने भएको छ। प्रकाशन संस्था बुकहिल र र्‍यान्डम रिडर्स सोसाइटीको सहकार्यमा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा एकदिने साहित्यिक मेला हुन लागेको हो।

‘पुस्तक र विचारको उत्सव’ नारासहित आयोजना हुन लागेको कार्यक्रममा चर्चित लेखक, कवि तथा विश्लेषकहरूको जमघट हुनेछ। कार्यक्रममा ‘असहमति–तन्त्र’ देखि सांगीतिक प्रस्तुतिसम्मका ७ वटा सत्र सञ्चालन हुने आयोजकले जनाएको छ।

बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले लेखक र पाठकबीचको सम्बन्धलाई नजिक बनाउन र वैचारिक बहसलाई तीव्रता दिन कार्यक्रम आयोजना गरिएको बताए। ‘हामी पोखरामा पुस्तक र विचारको उत्सव मनाउन गइरहेका छौं,’ अध्यक्ष खड्काले भने, ‘यस किसिमको बहस र विमर्शले पठन संस्कृतिलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएका छौं।’

बिहान ११:३० बजे सुरु हुने कार्यक्रमको पहिलो सत्र ‘असहमति–तन्त्र’ मा चर्चित विश्लेषक सौरभ र एकान्त शर्माबीच संवाद हुनेछ। लगत्तै ‘स्वको महायुग’ सत्रमा सरस्वती प्रतीक्षा र सीमा आभासले बहस गर्नेछन्।

कार्यक्रममा निष्प्रभ सजीको कृति ‘याली’ को लोकार्पणसमेत गरिनेछ। पुस्तकको विमोचन वरिष्ठ साहित्यकार सरुभक्त र लेखक स्वयंले गर्नेछन्। दिउँसो निबन्ध विधामा केन्द्रित ‘निबन्धको उज्यालो’ सत्रमा रोशन शेरचन र भूपिनबीच संवाद हुनेछ।

यस्तै, ‘नदीशको लयमा हिँउद’ शीर्षकमा नदीशले एकल प्रस्तुति दिनेछन्। ‘पाइडल र पैताला’ सत्रमा विश्व साइकल यात्री पुष्कर शाह र गनेस पौडेलबीच रोचक कुराकानी हुने तालिका छ।

कार्यक्रमको अन्तिम सत्रमा ‘बुकहिल ब्यालेड्स’ अन्तर्गत सांगीतिक प्रस्तुति रहनेछ। जसमा वरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठका गीतहरूमा गायक विनोद बानियाँले स्वर दिनेछन्। कार्यक्रमस्थलमा बुकस्टलका साथै लेखकहरुसँग र पुस्तक हस्ताक्षर पनि रहने छ ।

बेलुका ६ बजेसम्म चल्ने उत्सवमा साहित्यप्रेमीका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया