पोखरा आदर्शमा तीनदिने खेलकुद : फुटबल, भलिबल र बास्केटबलमा रातो सदनको वर्चस्व
voiceofgandaki
१३ मङ्सिर २०८२, शुक्रबार
पोखरा ।
पोखराको बगरस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलको वार्षिक खेलकुद कार्यक्रम बिहीबार सम्पन्न भएको छ । गत मंगलबारदेखि सुरु भएको तीनदिने प्रतियोगितामा सदनगत र खुला गरी विभिन्न खेलहरू भएका थिए ।
प्रतियोगितामा सिनियरतर्फका मुख्य खेलहरूमा रातो सदन हाबी भयो । फुटबल, भलिबल र बास्केटबलमा रातो सदनको समूह प्रथम भयो । फुटबल र बास्केटबलमा हरियो सदनले द्वितीय स्थान चित्त बुझायो । सिनियर कबड्डीमा भने निलो सदन विजेता र हरियो सदन उपविजेता बने ।
रिले दौडको सिनियरतर्फ निलो सदन प्रथम र रातो सदन दोस्रो भए । जुनियर रिले दौड छात्र र छात्रा दुवैतर्फ हरियो सदनले बाजी मार्यो । दुवैमा पहेँलो सदन दोस्रो भयो । यस्तै छात्रतर्फको अर्को रिले दौडमा रातो सदन प्रथम र पहेँलो सदन द्वितीय भए । बोतलमा पानी भर्ने खेलमा निलो सदन प्रथम र पहेँलो सदन दोस्रो भए ।
व्यक्तिगत स्पर्धातर्फ सिनियर १०० मिटर दौड (छात्र) मा आर्यन नेपाली प्रथम, माधव त्रिपाठी द्वितीय र प्रताप केसी तृतीय भए । सोही विधाको छात्रातर्फ सन्ध्या आचार्य प्रथम, अवान्तिका आचार्य द्वितीय र मुस्कान नेपाली तृतीय भए ।
४०० मिटर दौड (छात्र) मा उमंग परियारले स्वर्ण जिते । प्रशान्त केसी दोस्रो र विजय पुन तेस्रो भए । ४०० मिटर छात्रातर्फ अवान्तिका आचार्य प्रथम, सन्ध्या आचार्य द्वितीय र मुस्कान नेपाली तृतीय भए ।