जेन–जी आन्दोलनपछि पोखरामा क्षतिको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डे

voiceofgandaki

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट उत्पन्न क्षतिको मंगलबार विस्तृत अवलोकन गरेका छन् । आन्दोलन भएको समयमा  दुवईमा रहेका पाण्डे नेपाल फर्किएसँगै प्रत्यक्ष रुपमा अवस्थाको जानकारी लिन प्रदेशका विभिन्न कार्यालय र संरचना पुगेका हुन् ।

सबैभन्दा पहिले मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरीक्षण गरे । त्यसपछि उनी प्रदेश सभामा पुगे । प्रदेशसभाको भवन र आसपासका संरचना क्षतिग्रस्त अवस्थामा देखेपछि उनी निकै निराश मुद्रामा देखिएका प्रत्यक्षदर्शीले बताए ।

आन्दोलनकारीहरूले प्रदेशसभाभित्र रहेका कार्यालय सामग्रीदेखि लिएर प्रविधिजन्य उपकरणसम्म तोडफोड गरेका थिए । दुईपांग्रे र चारपांग्रे सरकारी सवारी साधनसँगै कम्प्युटर, ल्यापटप, प्रिन्टर, भिडियो क्यामेरा, टेलिभिजन, स्मार्टबोर्ड, कुर्सी, टेबल, दराज, सोफा लगायतका सम्पत्ति आगजनी वा नष्ट गरिएको मुख्यमन्त्रीलाई अवलोकनका क्रममा अधिकारीहरूले जानकारी गराएका थिए ।

प्रदेशसभाको निरीक्षणपछि मुख्यमन्त्री पाण्डे जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की र अन्य क्षतिग्रस्त सरकारी संरचनाहरू पनि पुगे । भदौ २४ गते भएको आन्दोलनको दिन पोखरास्थित अधिकांश सरकारी निकायमा व्यापक तोडफोड र आगजनी भएको थियो, जसको प्रभाव अझै प्रशासनिक कामकाजमा देखिएको छ ।

प्रदेश सरकारका अनुसार सार्वजनिक सम्पत्तिमा भएको क्षतिको यकिन मूल्याङ्कन जारी छ र विस्तृत प्रतिवेदन आउन केही दिन लाग्नेछ ।

प्रतिक्रिया