पोखरा । तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद् कास्कीले सोमबार पोखरामा विशेष कार्यक्रम गरी युवा अगुवा सुदन गुरुङलाई सम्मान गरेको छ । सम्मान ग्रहणका क्रममा गुरुङले हालको राजनीतिक स्थितिबारे कडा अभिव्यक्ति दिएका छन् ।
उनले आफू र जेनजी पुस्ताले पुर्याएको योगदान ‘देश परिवर्तनका लागि त्यागिएको पद’ भएको बताए । गुरुङले विगतको आन्दोलन, नेतृत्व चुनिने प्रक्रियामा परेको विवाद, कानुनी सल्लाहकारहरुको भूमिका लगायतका विषयमा स्पष्ट धारणा राखे । उनले आफूहरु कठिन परिस्थितिमा देशका लागि अग्रसर भएको दाबी गर्दै भने, ‘कर्फ्युमा पनि अगाडि बढ्यौँ । देश डुब्न नदिन, भविष्य बचाउन युवा पुस्ताले नेतृत्व गर्यो ।’
गुरुङले त्यतिबेला कानुनी सल्लाहकारका रुपमा रहेर निर्देशन दिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालप्रति तीव्र असन्तुष्टि पोखे । ‘हामीलाई सही सल्लाह नदिएका कारण आज देश अपेक्षित परिवर्तनको दिशामा जान सकेन’, गुरुङले भने, ‘अर्याल त्यतिबेला मसँगै बसेर कानुनी सल्लाह दिन्थे । तर त्यो सल्लाहले देशको परिवर्तनप्रति रहेको हाम्रो आशा मार्यो ।’
अर्याल जेनजीको रगतमा टेकेर गृहमन्त्री बनेको उनले आरोप लगाए । ‘हिजो हामीलाई अगाडि पछाडि गरेर सल्लाह दिने गृहमन्त्री ओमप्रकाश अर्याल आज यो मिलेन, त्यो मिलेन भनेर फाइदा लुट्दै छन्’, गुरुङले थपे, ‘त्यो बेला उनले भन्न सक्थे—तपाईंहरुको माग पूरा हुन सक्दैन, संविधान संशोधन बिना यो सम्भव छैन । तर त्यो भन्न चाहेनन् । राजनीतिलाई पद र अवसरको नाङ्गो खेल बनाएर युवाको भरोसा तोडियो ।’
गुरुङले आफू र आफ्नो टिमले आन्दोलनका दिनमा भोगेका कठिनाइ स्मरण गरे । ‘६ दिनसम्म एक थोपा पानी, एक चिम्टी भात पनि खाइएन । सिटामोल खाएर लडिरह्यौँ । देशका लागि, नयाँ सोचका लागि, परिवर्तनका लागि हामीले त्यागेको पद कुनै सामान्य कुरा होइन’, उनले भने । उनले अरु नेता भएको भए पद कहिल्यै नछोड्ने भन्दै व्यंग्य गरे ।
‘हामीले देशको हितका लागि प्रधानमन्त्रीदेखि सबै सम्भावित पद त्याग्यौँ’, गुरुङले थपे, ‘मलाई राष्ट्रपतिकोमा एक्लै बोलाइयो, तर मैले भनेँ—म एक्लै आउँदिन, म आफ्ना जेनजी दाजुभाइ–बहिनीहरुसँग आउँछु । किनकि उनीहरुले नै मलाई म्यान्डेट दिएका थिए ।’
युवा पुस्ताले प्रधानमन्त्रीका लागि सुशीला कार्कीको नाम प्रस्ताव गरेका हुन् । ‘बालेन र हर्क साम्पाङले फोन उठाएनन् । त्यसपछि उहाँको नाम आयो । मैले त्यो जिम्मेवारी अभिभावकको रुपमा पूरा गर्नुपर्ने कर्तव्य ठानेँ’, उनले भने । परिषद्ले उनको सामाजिक चेतना र राजनीतिक सक्रियतालाई ‘युवा पुस्ताको आवाज प्रतिनिधित्व गर्ने प्रभावशाली पहिचान’ भन्दै सम्मानपत्र प्रदान गर्यो ।
१६ मङ्सिर २०८२, सोमबार ०७:०५ मा प्रकाशित