पोखरा । कास्कीको पोखरा महानगरपालिका–२१ हर्राबोटमा बिहीबार सुन्तला महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको मुख्य पकेट क्षेत्र मानिने यस वडामा यस वर्ष करिब १० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । वडा कार्यालय, वडास्तरीय कृषि सञ्जाल र महानगरको आर्थिक विकास महाशाखाको समन्वयमा आयोजित महोत्सवमा उत्कृष्ट कृषकसहित विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको छ ।
महोत्सवअन्तर्गत आयोजित उत्कृष्ट सुन्तला उत्पादक कृषक प्रतियोगितामा पोखरा–२१ फेदीपाटनकी प्रभा पौडेल प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । सोही विधामा पोखरा–२१ स्यारतुङका दीपेन्द्रराज आचार्य द्वितीय हुँदै ७ हजार रुपैयाँ र पोखरा–२९ दोपहरेका विजय सुवेदी तृतीय हुँदै ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
सुन्तलाको ग्रेडिङ प्रतियोगितामा भीममाया सुवेदीले बाजी मारिन् । उनी प्रथम हुँदै ५ हजार रुपैयाँ पुरस्कार पाइन् । भोजबहादुर थापा द्वितीय भएर ३ हजार रुपैयाँ र लक्ष्मी थापा तृतीय हुँदै २ हजार रुपैयाँ प्राप्त गर्न सफल भए । दर्शकका लागि रोचक बनेको सुन्तला खाने प्रतियोगितामा श्रीधर बराल प्रथम भए । सोही प्रतियोगितामा अर्जुन अधिकारी द्वितीय र बाबुराम ढकाल तृतीय भए ।
महोत्सवको आकर्षणका रूपमा रहेको झाँकी प्रदर्शन प्रतियोगितामा वालन एवं कला संस्कृति प्रतिष्ठान नेपाल प्रथम भयो । प्रतिष्ठानले ५ हजार रुपैयाँ नगद पुरस्कार पायो । प्रतियोगितामा प्रगतिशील आमा समूह द्वितीय र राधाकृष्ण आमा समूह तृतीय भएर क्रमशः २ हजार र २ हजार रुपैयाँ प्राप्त गरे । सिल्दो न्हाल्दो धुवारकोट तमु समाजले सान्त्वना स्थान हासिल गर्दै १ हजार रुपैयाँ पायो ।
यसैगरी सुन्तला स्टल सजावट प्रतियोगितामा हर्राबोट कृषक समूहका बसन्त सुवेदी प्रथम भए । उनले ५ हजार रुपैयाँ पुरस्कार पाए । नव सिर्जना फार्मका शिवप्रसाद भण्डारी द्वितीय र वि–गार्डन कृषि फार्मकी सीला भण्डारी तृतीय भए । उनीहरूले क्रमशः २ हजार र २ हजार रुपैयाँ प्राप्त गरे ।
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले किसानको सम्मान र स्थानीय उत्पादनको प्रवर्धनका लागि महोत्सव फलदायी भएको बताए । उनले आगामी वर्षदेखि महोत्सवलाई महानगरको वार्षिक क्यालेन्डरमै समावेश गरी निरन्तरता दिने प्रतिबद्धता जनाए । महानगरले एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नम्बर २१ लाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गरेको छ ।
महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरामा कुल ३ सय देखि ३ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको जानकारी दिए । उनका अनुसार यहाँका करिब ५ सय किसानले लगाएका ३० देखि ३५ हजार बोटबाट यस वर्ष ३ हजार ५ सय देखि ४ हजार मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने अनुमान छ । जसको बजार मूल्य करिब १० करोड रुपैयाँ हुन आउँछ । कडरियाले महानगरले सुन्तला बिक्रीमा प्रतिकिलो १० रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराउने व्यवस्था गरेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका कृषि सचिव बासुदेव रेग्मीले सुन्तला खेतीको विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने बताए । वडा नम्बर २१ का अध्यक्ष दीपकप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र किसानहरूको उल्लेख्य उपस्थिति थियो । मेलामा सुन्तलासँगै स्थानीय मह, कफी, सेलरोटी लगायतका कृषि उपजका स्टलहरू राखिएका थिए ।
१० पुस २०८२, बिहिबार ०९:२१ मा प्रकाशित