काठमाडौं ।
आगामी वर्ष भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल कठिन समूहमा परेको छ । नेपाल समूह ‘सी’ मा छ ।
यो समूहमा बलिया टेस्ट राष्ट्रहरूको बाहुल्य छ । नेपालले समूह चरणमै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको च्याम्पियन इंग्ल्यान्डको सामना गर्नेछ । यसबाहेक टेस्ट राष्ट्र बंगलादेश र युरोपेली टोली इटाली पनि यही समूहमा छन् । नेपालले समूह चरणका आफ्ना सबै खेल भारतको मुम्बईमा खेल्नेछ ।
विश्वकपमा नेपालले इंग्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने अवसर पाएको छ । इटाली पहिलो पटक विश्वकपमा छनोट भएको टोली हो । युरोप क्षेत्रको छनोटमा बलियो मानिने स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान सुरक्षित गरेका थिए । नेपालको भने यो तेस्रो विश्वकप यात्रा हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलिसकेको छ ।
आइसिसीले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान एकै ठाउँमा छन् । यो समूहमा अमेरिका, नेदरल्यान्ड्स र नामिबिया पनि छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे, आयरल्यान्ड र ओमान परेका छन् । त्यस्तै समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई छन् ।
प्रतियोगिता आगामी वर्षको फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म सञ्चालन हुनेछ । हरेक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि ती समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
११ मङ्सिर २०८२, बुधबार ०६:५३ मा प्रकाशित