पोखरा – निर्माण भएको ५४ वर्षपछि, पहाडका भीरपाखा छिचोल्दै तराईलाई पोखरासँग जोड्ने ऐतिहासिक सिद्धार्थ राजमार्गले मुहार फेर्ने भएको छ। स्तरोन्नति परियोजना अन्तर्गत यो राजमार्गलाई सुरुङ मार्ग र वैकल्पिक मार्गसहित आधुनिक र छोटो बनाउने प्रक्रिया अघि बढेको हो। परियोजना सम्पन्न भएपछि हाल करिब ६ घण्टा लाग्ने पोखरा-बुटवल यात्रा २.५ घण्टामा पूरा हुनेछ, जसले देशको आर्थिक र पर्यटकीय विकासमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ।
२०२२ सालमा निर्माण सुरु भई २०२८ सालमा सम्पन्न भएको यो राजमार्गको स्तरोन्नतिका लागि एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) ले चासो देखाएको छ। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन सार्वजनिक गरी सुझावसमेत मागिसकेको छ। हाल १५७ किलोमिटर लामो सडकलाई स्तरोन्नतिसहित वैकल्पिक मार्गहरू निर्माण गरी ११२.८१ किलोमिटरमा छोट्याउने गरी अध्ययन भइरहेको छ। नयाँ संरचना अनुसार २३ किलोमिटर सुरुङ मार्ग, ०.८६ किलोमिटर पुल, २.९५ किलोमिटर भायाडक्ट, ७४ किलोमिटर स्तरोन्नति र ११.७ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ।
यसै क्रममा, एआईआईबीको तर्फबाट अध्ययन गरिरहेको स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्ट (SchEMS) को प्राविधिक टोलीले गत शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ। छलफलका क्रममा नगर प्रमुख आचार्यले पोखरा खण्ड विस्तारका लागि आवश्यक सबै सहयोग र सहजीकरण गर्न महानगर तयार रहेको प्रतिबद्धता जनाए। उनले महानगरका वडा नं. १७, २१ र २२ हुँदै जाने सडक खण्डमा देखिन सक्ने स्थानीय समस्या समाधानका लागि महानगर तत्पर रहेको बताए। भेटलगत्तै नगर प्रमुख आचार्यले सम्बन्धित वडाका अध्यक्षहरूलाई प्राविधिक टोलीसहित स्थलगत अनुगमन गर्न निर्देशन दिएका छन्।
भारतीय आर्थिक सहयोगमा २०२९ सालमा राजा वीरेन्द्रबाट उद्घाटन भएको यो राजमार्ग प्रविधिको अभावका बीच ७ वर्षमा निर्माण सम्पन्न भएको थियो। तर, साँघुरो बाटो, अनगिन्ती घुम्ती र कमजोर संरचनाका कारण यो राजमार्ग चालकहरूको रोजाइमा पर्न सकेको छैन। विशेषगरी स्याङ्जा बजार खण्डमा २०२४ सालको मापदण्ड लागू नहुने गरी राजा वीरेन्द्रले दिएको हुकुम प्रमांगीका कारण सडक विस्तार हुन सकेको छैन। बुटवल-पाल्पा खण्डमा पटक-पटक खस्ने पहिरो र जीर्ण बनेका पुलहरू राजमार्गका प्रमुख चुनौती हुन्।
चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजनाको कुल लागत १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ अनुमान गरिएको छ। ईआईए प्रतिवेदनअनुसार स्तरोन्नतिपछि सडकको चौडाइ ५० मिटरसम्म हुनेछ भने दुवैतर्फ सोल्डर र नाली निर्माण गरिनेछ। परियोजनाका लागि ५४.१२ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमध्ये ९१.४२ हेक्टर खेतीयोग्य जमिन र १५.१८ हेक्टर वन क्षेत्र पर्दछ। यस क्रममा २,९८२ वटा रूख तथा पोलहरू काट्नुपर्ने, ३५५ घरधुरी र २१ संस्थागत भवनसहित विभिन्न भौतिक संरचनाहरू प्रत्यक्ष प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ।
आयोजनाले वातावरणीय क्षति न्यूनीकरणका लागि उपयुक्त प्रविधिको प्रयोग गर्ने र नकारात्मक असर देखिएमा डिजाइन वा प्रविधिको विकल्प अपनाउने प्रतिबद्धता जनाएको छ। स्याङ्जाको भालु पहाडमा तीनवटा सुरुङमार्ग बनाउने गरी डिजाइन गरिएको छ भने सडकलाई सबै मौसममा सुचारु रहने ‘डबल बिटुमिनस सर्फेस ट्रिटमेन्ट’ मापदण्ड अनुसार स्तरोन्नति गरिनेछ। यो स्तरोन्नतिले पोखरालाई भारतसँग जोड्ने सबैभन्दा छोटो मार्गलाई पुनर्जीवन दिँदै यातायात, व्यापार, पर्यटन र स्थानीय रोजगारीमा क्रान्ति ल्याउने विश्वास गरिएको छ।
२ भदौ २०८२, सोमबार ०७:३५ मा प्रकाशित