पोखरा । पोखरा महानगरपालिकाको सुन्तलालाई ब्रान्डिङ गर्ने र बजारसँग जोड्ने उद्देश्यले वडा नम्बर २१ को हर्राबोटमा बिहीबारदेखि सुन्तला महोत्सव सुरु भएको छ। पोखरा क्षेत्रमा यस वर्ष करिब १० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ। जसमध्ये करिब आधा हिस्सा अर्थात् ५० प्रतिशत उत्पादन वडा नम्बर २१ मा मात्रै हुने गरेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए। ‘नेपालीको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग’ भन्ने नाराका साथ महानगर प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरे।

आर्थिक विकास महाशाखा प्रमुख कडरियाका अनुसार पोखरा क्षेत्रमा कागतीसहित वार्षिक करिब ४ हजार टन सुन्तला उत्पादन हुने गरेको छ। उत्पादन र सम्भावना उच्च भए पनि व्यवस्थित बजारको अभाव देखिएकाले पहिलो पटक महोत्सवमार्फत स्थानीय सुन्तलालाई बजारसँग जोड्ने लक्ष्य राखिएको उनले बताए। महोत्सवमा सुन्तलाको गुणस्तर र ग्रेडिङका आधारमा प्रतिकिलो ५० देखि १०० रुपैयाँसम्म मूल्य निर्धारण गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ। यसरी सुन्तला बिक्री गर्ने किसानलाई महानगरपालिकाले थप १० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने कडरियाले जानकारी दिए।
महोत्सव उद्घाटन गर्दै मेयर आचार्यले अर्गानिक सुन्तलाको प्रवर्धनले महानगरलाई फलफूल र कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए। ‘किसानलाई सम्मान गर्दै स्थानीय उत्पादनलाई बढावा दिन महोत्सव फलदायी सावित हुनेछ’, उनले भने, ‘पोखराको सुन्तलालाई स्थापित गर्न वडा नम्बर २१, २२, १६, २३, २८ र ३३ को महत्वपूर्ण योगदान रहेको छ।’ उनले महानगरको ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत वडा नम्बर २१ लाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गरिएको उल्लेख गरे। उनले किसानको सम्मान र स्थानीय उत्पादनको प्रवर्धन नै महानगरको मुख्य लक्ष्य भएको बताए।
महोत्सवको आकर्षणका रूपमा झाँकीसहितको र्याली निकालिएको छ भने सुन्तलाको पहाड बनाएर प्रदर्शन गरिएको छ। करिब २० वटा स्टल रहेको महोत्सव स्थलमा सुन्तला ग्रेडिङ प्रदर्शन, सुन्तला खाने प्रतियोगिता र धेरै उत्पादन गर्ने किसानलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको छ। वडास्तरीय कृषि संजालको समन्वयमा भएको महोत्सवमा सुन्तलासँगै स्थानीय फलफूल, तरकारी तथा अन्य कृषि उपजको प्रदर्शन र बिक्री भइरहेको छ।
स्थानीय इन्द्रप्रसाद सुवेदीले कृस्तीको सुन्तलालाई ‘पोखराको पहिचान’ बनाउन यो महोत्सव निर्णायक बन्ने आशा व्यक्त गरे। यस्तै वडाध्यक्ष दीपक सुवेदीले वडाका किसानको जीवनस्तर उकास्न सुन्तला खेतीको ठूलो भूमिका रहेको बताए। उनले महोत्सवमार्फत करिब ५ करोड रुपैयाँ बराबरको सुन्तला कारोबार हुने अपेक्षा गरिएको जनाए। यो महोत्सवले किसानमा नयाँ उत्साह थप्नुका साथै पोखराको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।
१० पुस २०८२, बिहिबार ०७:५२ मा प्रकाशित