निकास नहुँदा खेतमै सीमित भयो पोखरामा बनेको साढे ३ करोडको पुल

भ्वाइस अफ गण्डकी

पोखरा । 

पोखरामा करिब साढे ३ करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको पक्की पुल निकास (अप्रोच रोड) नहुँदा प्रयोगविहीन बनेको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १३ र २६ जोड्ने ढल्के–झौरीखेत पक्की पुल निर्माण सम्पन्न भएको ३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो ।

तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले २०७९ चैत ३० गते तामझामका साथ उद्घाटन गरेको उक्त पुल अहिले मानिस र सवारीसाधनका लागि नभई खेतमा आउजाउ गर्न मात्र सीमित भएको छ । गण्डकीका तत्कालीन भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको पालामा बजेट विनियोजन भई निर्माण भएको यो पुलको हविगत पनि बस्नेतकै गृहजिल्ला गोरखाको जरेबर पुलजस्तै भएको छ । गोरखामा पनि निकासबिनै पुल बनाएको भन्दै अख्तियारले कर्मचारीविरुद्ध मुद्दा चलाएको थियो ।


पुल निर्माणका लागि रसुवा वाइएसएस जेभीसँग २०७७ असार २९ गते सम्झौता भएको थियो । कुल ८ करोड ५ लाख ७३ हजार ८९९ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना निर्माण कम्पनीले ३ करोड ३८ लाख ९८ हजार २७७ रुपैयाँमा ठेक्का सकारेको थियो । २०७८ असोज २८ गतेसम्म काम सक्नुपर्ने भए पनि म्याद थप गरी २०७९ जेठ २० गते निर्माण सम्पन्न गरिएको थियो । तर, पुल बनेको ३ वर्ष नाघिसक्दा पनि २६ नम्बर वडा तर्फको बाटो नखुल्दा राज्यको लगानी बालुवामा पानी सरह भएको छ ।

वडा नम्बर १३ तर्फबाट पुलसम्म पुग्ने बाटो भए पनि २६ तर्फको निकास ठप्प छ । खोलाको मापदण्ड सकिनेबित्तिकै व्यक्तिको जग्गा र घर पर्ने भएकाले समस्या आएको हो । बाटो पर्ने स्थानमा स्थानीय मनकुमारी नेपालीको घर छ । बाटो खुलाउँदा आफ्नो घर पूर्ण रूपमा भत्किने मनकुमारी बताउँछिन् ।

‘श्रीमानको मिर्गौला बिरामी भएकाले उपचारका लागि फूलबारीमा भएको घर जग्गा बेचेको हो, बाँकी पैसाले यहाँ जग्गा किनेर घर बनाएको हो,’ मनकुमारीले भनिन्, ‘अहिले श्रीमान् बितिसके, छोरो ८ कक्षामा पढ्छ । कुना नमिलेको ६ आना जग्गा किनेर बनाएको अस्थायी घर पनि भत्काएपछि हामी कहाँ जाने ?’ सरकारले मुआब्जा दिएर अर्को बासको व्यवस्था गरिदिए आफू हट्न तयार रहेको, नत्र आफूहरूलाई बेवारिसे बनाउन नपाइने उनको भनाइ छ । स्थानीय सरकार र प्रदेश सरकारले यसबारे ठोस वार्ता गर्न सकेका छैनन् ।


रोचक कुरा के छ भने, सोही स्थान नजिकै १ दशकअघि बनाइएको झोलुंगे पुल पनि जग्गा विवादकै कारण प्रयोगविहीन छ । दुवैतिरको ‘जिप’ (पुलको लठ्ठा कस्ने भाग) निजी जग्गामा पर्ने भन्दै वडा नम्बर १३ र २६ का जग्गाधनीले अवरोध गरेका थिए । १३ तर्फका जग्गाधनीले पुलमै भोटेकुकुर बाँधेर राख्ने र २६ तर्फ खेतबाट बाटो नदिने गर्दा त्यो पुल अलपत्र परेको थियो । त्यही विवादित स्थानभन्दा थोरै तल अहिले पक्की पुल बनाइएको हो ।

सामाजिक अगुवा विश्व सिग्देलले पुल निर्माणका लागि गलत स्थान छनोट गरिएको बताए । सेती नहरको पानी खस्ने विजयपुर खोलामाथि बन्नुपर्ने पुल अन्यत्रै बनाएर राज्यशक्तिको दुरुपयोग गरिएको उनको दाबी छ ।


‘हिजो पृथ्वी राजमार्ग बन्नुअघि दुईकुलाको मुहान नजिकै विजयपुरमा घोडा र मानिस वारपार गर्न मिल्ने पक्की पुल थियो । दशकअघिको बाढीले त्यो भत्काएपछि पोहोर मात्रै झोलुंगे पुल बनाइएको छ,’ सिग्देलले भने, ‘पुरानै ठाउँमा पक्की पुल बनाउनुपर्ने थियो, जुन सबैलाई पायक पर्थ्यो र दूरी पनि घटाउँथ्यो । तर, अहिले गलत ठाउँमा पुल बनाइयो ।’ यद्यपि, पृथ्वी राजमार्गको जाम कम गर्न यो क्षेत्रमा मोटरेबल पुल आवश्यक रहेको उनले स्वीकार गरे ।

पोखरालाई पृथ्वी राजमार्गसँग जोड्न र विजयपुर खोलाको पुलको चाप घटाउन यो पुललाई वैकल्पिक बाटोका रूपमा हेरिएको थियो । पोखरा–मुग्लिन सडक स्तरोन्नतिका क्रममा हाल विजयपुर खोलामाथि आधुनिक मोटरेबल पुल बन्दै गर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । ढल्के–झौरीखेत जोड्ने यो पुल सञ्चालनमा आएको भए ट्राफिक जामको समस्या केही हदसम्म कम हुने थियो ।

अहिले स्थानीयले बाटो खुलाउन अवरोध सिर्जना गर्दै आएका छन् भने विवादित जग्गामा केही महिनाअघि मात्र सानो ब्लकको एककोठे टहरासमेत निर्माण भइरहेको छ । स्थानीय शारदा रानाभाटले वडाध्यक्षहरूले पटकपटक पहल गरे पनि घर नभत्काई बाटो खुल्ने अवस्था नरहेको बताइन् । उता नजिकैको अर्को झोलुंगे पुलमा भने क्षमताभन्दा बढी दुईपांग्रे सवारीको चाप बढेकाले पुल खतरामा रहेको स्थानीय लक्ष्मी थापाले चिन्ता व्यक्त गरिन् ।


प्रतिक्रिया