काठमाडौँ ।
नवनियुक्त ४ मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सपथ खुवाएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरेका थिए ।
सपथ लिनेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले सपथ लिए । वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पनि सपथ लिएका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उपस्थित थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल पनि सहभागी भए । मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखको समारोहमा उपस्थिति थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो । यसअघि भदौ ३०, असोज ६ र कात्तिक ९ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।
नवनियुक्त मन्त्री श्रद्धा श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरिन् । उनले सार्वजनिक निकायलाई लैङ्गिक दृष्टिले उत्तरदायी बनाउन तयार पारिएको ‘राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि–२०८२’ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिन् । श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक पनि हुन् । उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन गरेकी छन् । उनी संयुक्त राष्ट्रसंघको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटिपी) की राष्ट्रिय परियोजना संयोजक समेत थिइन् ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले पनि मन्त्रालयमा पदभार ग्रहण गरे । उनले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताए । सरकारको समय छोटो भए पनि १ दिनलाई १ घण्टा मानेर काम गर्ने उनले प्रतिबद्धता जनाए । लामो समय सिआइबीको संस्थापक भएर काम गरेकाले संगठित अपराधको जालो तोड्ने कार्ययोजना बनाउने उनले सुनाए । उनले भने, ‘प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ ।’ उनले हरेक प्रहरी दमनकारी नहुने र हरेक जेनजी विध्वंसकारी नहुने महसुस गराउने बताए । जेनजीको जति पीडा छ, नेपाल प्रहरीको पनि उत्तिकै रहेको उनको भनाइ छ । दुवै पक्षले क्षति व्यहोर्नुपरेको र दुवैको आवाज मन्त्रिपरिषद्मा लैजाने उनले बताए । प्रहरी सेवाबाट अवकाश भएको करिब १ दशकपछि उनी मन्त्री बनेका हुन् । अवकाशको समयमा उनी लेखन र पठनपाठनमा सक्रिय थिए ।
नवनियुक्त मन्त्री कुमारसिंह इङ्नामले पनि सिंहदरबार पुगेर पदभार सम्हाले । मन्त्रालयका सचिव मदन भुजेललगायत कर्मचारीले उनलाई स्वागत गरे । सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्ने बताए । नेपालको जमिन उर्बर भए पनि भूउपयोग कमजोर रहेको उनको भनाइ छ । उनले भने, ‘कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छाैँ ।’
२७ मङ्सिर २०८२, शुक्रबार ०६:५८ मा प्रकाशित