पोखरा ।
सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानुअघि नयाँ नेतृत्व चयन प्रक्रियाबारे छलफल भइरहेको थियो । वरिष्ठता, समन्वय क्षमता, संस्थागत बुझाइ र कार्यक्षमतालाई तुलना गरेर निर्णय हुने बताइँदै आएको यो प्रक्रियामा सुमनराज अर्याल, प्रमीलादेवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा। कृष्णहरि पुष्कर आकांक्षी थिए ।
छलफलका क्रममा मुख्यसचिव पद देशको प्रशासनिक नेतृत्व, नीतिगत सल्लाह, मन्त्रालयबीच समन्वय र सरकारी निर्णयहरूको प्रभावकारी कार्यान्वयनसँग जोडिने भएकाले योग्य, विवेकशील र संस्थागत परम्परा बुझ्ने व्यक्तिहरू नै उपयुक्त हुने बहस प्रशासनिक वृत्तमा निरन्तर चलिरहेको थियो । राजनीतिक प्रभाव, बिचौलियाको पहुँच र शक्ति–समूहको दबाबबाट मुक्त ‘निष्पक्ष नेतृत्व’ आउनुपर्ने माग कर्मचारी वृत्तमा बलियो देखिएको थियो ।
विगतमा केही उच्चस्तरीय नियुक्तिमा बाह्य हस्तक्षेपको आरोप लाग्दै आएको पृष्ठभूमिमा यस पटक सरकार सचेत रहेको बताइएको थियो । सचिवहरूको मनोबल उकास्ने, मन्त्रालयसँग समन्वयमा दक्ष, नीतिगत निर्णयका सम्भावित असर पहिचान गर्न सक्ने र निर्वाचन व्यवस्थापनजस्ता संवेदनशील जिम्मेवारी वहन गर्न सक्षम व्यक्तिलाई मुख्यसचिव बनाउनुपर्ने तर्क प्रशासनिक विश्लेषकहरूले उठाउँदै आएका छन् ।