पोखरा । नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले आर्थिक दायित्वबाट सुरक्षित रहन र जोखिम हस्तान्तरण गर्न बिमा अपरिहार्य रहेको बताएको छ । प्राधिकरणले मंगलबार पोखरामा नेपाल पत्रकार महासंघ कास्कीमा आबद्ध पत्रकारहरूसँग अन्तरक्रिया गर्दै बिमाको महत्त्वबारे जनचेतना जगाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने औँल्याएको हो ।
कार्यक्रममा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले बिमा र गण्डकी प्रदेशको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । मिश्रले आर्थिक जोखिम न्यूनीकरणका लागि सबैले बिमाको उपयोग गर्नुपर्ने सुझाव दिए । बिमाको दायरा फराकिलो बनाउन र आम सर्वसाधारणसम्म यथार्थ जानकारी पुर्याउन सञ्चार माध्यमले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
यद्यपि, कार्यक्रममा सहभागीहरूले बिमा दाबी भुक्तानी प्रक्रिया निकै झन्झटिलो भएको भन्दै प्रश्न उठाएका थिए । बिमितले भोग्नुपरेका समस्याबारे आवाज उठाउँदै सहभागीले सेवालाई छिटो र छरितो बनाउनुपर्नेमा जोड दिए । बिमा गर्नु जति महत्त्वपूर्ण छ, परेको बेला सहज रूपमा भुक्तानी पाउनु पनि उत्तिकै आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले आम नागरिकलाई अझै पनि बिमाको विषय बुझाउन नसकिएको स्वीकार गरे । उनले बिमालाई झन्झटरहित र सेवामुखी बनाउनुपर्ने बताए ।
अन्तरक्रियामा बिमा कम्पनीका प्रतिनिधि र पत्रकारहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेल, नेपाल सर्भेयर एसोसिएसन कास्कीका संयोजक बुद्धिराज अधिकारी, रामजीप्रसाद बराल, विनोद सापकोटा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्राधिकरण गण्डकीका प्रमुख मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा कविता पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन् भने सहजीकरण प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले गरेका थिए । प्राधिकरणले बिमाको आवश्यकता र महत्त्वबारे जनतालाई सुसूचित गराउने उद्देश्यले अन्तरक्रिया आयोजना गरेको जनाएको छ ।
२४ मङ्सिर २०८२, मङ्गलबार ०४:०१ मा प्रकाशित