लमजुङमा एउटै सिटका लागि १० नेताको दौडधुप, प्रत्यक्षमा महिला शून्य

voiceofgandaki

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि लमजुङ कांग्रेसमा पनि टिकटको हानथाप सुरु भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न १० जना नेताले दाबी पेस गरेका छन् । विद्यार्थी राजनीतिबाट आएका युवादेखि संविधानसभा सदस्य भइसकेका पाका नेतासम्म ‘एक थान’ टिकटका लागि मैदानमा उत्रिएका छन् ।

रोचक कुरा त के छ भने, प्रत्यक्ष चुनाव लड्न खोज्ने १० जनाको सूचीमा एउटा पनि महिलाको नाम छैन । यहाँ ‘हेभीवेट’ नेताहरूकै भिडन्त देखिएको छ । संविधानसभा सदस्य तथा पूर्व सभापति चन्द्रबहादुर कुँवर, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ र पूर्व उपसभापति गमप्रसाद गुरुङ टिकटको मुख्य दाबेदारका रूपमा अघि सरेका छन् । यस्तै, तरुण दलका केन्द्रीय सदस्य वृषराज गुरुङ, पूर्व महासचिव यमबहादुर गुरुङ, पूर्व क्षेत्रीय सभापति विष्णुप्रसाद धिताल र काठमाडौँ बारका अध्यक्ष सुबोधबाबु चिलुवालले पनि दाबी छाडेका छैनन् । नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष शिवराज रिमाल, लमजुङका पूर्व अध्यक्ष शैलेन्द्र घिमिरे र केन्द्रीय सदस्य राजकुमार गुरुङ पनि सांसद बन्ने दौडमा होमिएका छन् ।

प्रत्यक्षमा पुरुषको मात्र हालीमुहाली देखिए पनि समानुपातिकमा भने महिलाहरूको उपस्थिति छ । समानुपातिकतर्फ रामकृष्ण बराल, राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, भिउसिन दमै, सन्तोष न्यौपाने, स्थिरबाबु खाती र सुरेन्द्रप्रसाद पौडेलले नाम टिपाएका छन् । उता राष्ट्रिय सभाका लागि गर्जबहादुर गुरुङ, विष्णुमाया न्यौपाने धिताल र शुभनाथ मिश्रले रहर गरेका छन् ।

कांग्रेस केन्द्रले सकेसम्म सर्वसम्मत, नभए बढीमा ३ जनाको नाम पठाउन भनेको छ । तर आकांक्षीको लर्को लागेपछि जिल्ला नेतृत्व अप्ठ्यारोमा परेको छ । जिल्ला सचिव कृष्णबहादुर अधिकारीका अनुसार, मंसिर २७ गते बस्ने जिल्ला समितिको बैठकले यस विषयमा निर्णय गरेर केन्द्रमा नाम पठाउने तयारी गरेको छ । १० जनामध्ये ३ जना छानेर पठाउने कि सबैको नाम पोको पारेर केन्द्रतिरै पठाइदिने भन्ने चाहिँ २७ गतेको बैठकले नै टुंगो लगाउनेछ ।

प्रतिक्रिया