लन्डन । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले आफ्नो १०औँ वार्षिकोत्सव विशेष रूपमा मनाउने घोषणा गर्दै "Bridge Decade Cup 2025" आयोजना गर्न लागेको छ। आउँदो असार ७ गते आइतबार (२२ जुन २०२५) युकेको डेवाइजिस क्रिकेट मैदानमा ब्रिज इलेभेन (Bridge XI) र डेवाइजिस क्रिकेट क्लबबीच मैत्रीपूर्ण क्रिकेट खेल हुनेछ।
कार्यक्रमको मुख्य आकर्षण नेपाली अन्तर्राष्ट्रिय क्रिकेटर तथा ब्रिज इन्टरनेशनलका ब्रान्ड एम्बेसडर सन्दीप लामिछाने हुन्, जो ब्रिज इलेभेन टोलीको नेतृत्व गर्नेछन्।
ब्रिज इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीका अनुसार यो प्रतियोगिता कम्पनीको दशक लामो सफलताको उत्सव मात्र नभई सामाजिक उत्तरदायित्वको उदाहरण पनि हो।
“१० वर्षे यात्राको सम्मानमा हामी खेल, सद्भाव र सेवालाई एकैसाथ जोड्न चाहन्छौं। यस खेलबाट संकलन हुने सम्पूर्ण रकम नेपालका अनाथ बालबालिकाको सहयोगमा खर्च गरिनेछ,” गिरीले बताए।
कार्यक्रम संयोजक विज्ञान कार्कीले प्रतियोगिता नेपाली डायस्पोरा, खेलप्रेमीहरू र स्थानीय समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउन आयोजित गरिएको जानकारी दिए।
“यो खेल प्रतिस्पर्धाभन्दा पनि आपसी स्नेह र सहयोगको प्रतीक बन्नेछ,” उनले भने।
प्रतियोगिताको प्राविधिक पक्षमा म्याक्स क्रिकेट क्लब (Maxx Cricket Club) सहकार्य गर्दैछ। क्लबका कप्तान म्यानी गुरुङले यस खेललाई प्रेरणादायी अवसरका रूपमा लिएको बताए।
“खेलले समुदायलाई जोड्ने काम गर्छ, र यस्तो ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाउनु गौरवको कुरा हो,” गुरुङले भने।
कार्यक्रम निर्देशक अमित प्रकाश घिमिरेका अनुसार दशक लामो सेवाको यात्रालाई समाजप्रतिको उत्तरदायित्वमा परिणत गर्न खोजिएको यो प्रयास कम्पनीका मूल्य र दर्शनमा आधारित छ।