प्रतिभा माविमा बिजनेस प्लान प्रस्तुति

voiceofgandaki

पोखरा । पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीमा व्यावसायिक सोच विकास गराउने उद्देश्यले ‘बिजनेस प्लान’ (व्यावसायिक योजना) प्रस्तुति आयोजना गरेको छ । विद्यार्थीले तयार पारेको उत्कृष्ट व्यावसायिक योजना कार्यान्वयन गर्न विद्यालयले ५ लाख रुपैयाँ ‘बिउ पुँजी’ (सिड मनि) उपलब्ध गराउने घोषणा गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा व्यवस्थापन र होटल व्यवस्थापन समूहका २२ जना विद्यार्थीले दसैँ–तिहार बिदाको समयमा तयार पारेको बिजनेस प्लान प्रस्तुत गरेका थिए ।

विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीको योजनालाई साच्चिकै व्यावसायिकता दिन ५ लाख रुपैयाँ विनाब्याज ऋण उपलब्ध गराइने बताए । उनले भने, ‘अहिले प्रस्तुत गरेको बिजनेस प्लानलाई साच्चै व्यावसायिकता दिने र आर्थिक रूपमा अवस्था कमजोर भए विद्यालयले बिउ पुँजीको रूपमा ५ लाख रुपैयाँ सहयोग गर्नेछ ।’ यो रकम ५ वर्षभित्र फिर्ता गर्नुपर्ने सर्त राखिएको छ । आर्थिक अभावकै कारण कोही पनि व्यवसाय गर्नबाट पछाडि हट्नु नपरोस् भनेर यस्तो योजना ल्याइएको उनले प्रस्ट पारे ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पोखरेली व्यवसायी ध्रुव थापाले आफ्नो व्यावसायिक जीवनका आरोहअवरोह सुनाउँदै विद्यार्थीलाई प्रोत्साहन गरे । केही महिनाअघि ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट ठूलो क्षति बेहोरेका थापाले आफू विचलित नभएको बताए । उनले भने, ‘अहिले पनि म हतोत्साहित बनेको छैन । अप्ठ्यारो आउँदा आत्तिनु हुन्न । आफूले चाहेजस्तो हुँदैन ।’

१७ वर्षको उमेरमा कानुन पढ्दै गर्दा व्यवसाय सुरु गरेका थापाले २ लाख रुपैयाँ लगानीबाट यात्रा थालेको स्मरण गरे । उनले भने, ‘परिवारले दिएको २ लाख रुपैयाँबाट व्यवसाय सुरु गरेको थिएँ । सुरुमा २ वटा मोटरसाइकल राखेर व्यवसाय थालेको थिएँ । पसलमा पोछा लगाएर व्यापार सुरु गरेको भएर होला मलाई अहिले पनि मोटरसाइकलको पाटपुर्जा मर्मत गर्न आउँछ ।’ २०४५ सालतिर पोखरामा पहिलो रिकन्डिसन हाउस खोलेका थापाले घरजग्गा कारोबारमा गिरावट आउँदा पनि धैर्य नगुमाएको अनुभव सुनाए । उनले विद्यार्थीलाई सानो लगानीबाट व्यवसाय सुरु गर्न र नयाँपन दिन सुझाव दिए ।

प्रतियोगितामा विद्यार्थीले व्यक्तिगत तथा समूहगत रूपमा योजना प्रस्तुत गरेका थिए । उत्कृष्ट हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले साच्चै व्यवसाय थाल्ने हो भने ५० लाख रुपैयाँसम्मको साझेदारी गर्न विद्यालय तयार रहेको बताए । उनले भने, ‘युवालाई देशमै रहनुपर्छ भन्ने मान्यता अनुसार लागेका छौँ । काम गर्नुस् ५० लाखको पार्टनरसिप हामी बन्नेछौँ ।’

प्रस्तुतिको निर्णायकमा प्राध्यापक जशबहादुर गुरुङ र बैंकर तीर्थ घिमिरे रहेका थिए । प्रतिभा माविले विगत ३ वर्षदेखि यस्तो कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया