पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम बिहीबार सकिएको छ । कार्यक्रममा अनुसन्धाता डा सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेको उल्लेख गरे ।
पछिल्लो पुस्ता विज्ञान र प्रविधिमा अभ्यस्त हुनुपर्नेमा जोड दिँदै कोइरालाले डिजिटलमा आधारित सीपले बेरोजगारी हट्ने जनाए । राज्यले अनुसन्धानको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै कोइरालाले अनुसन्धान विनाको योजना कार्यान्वयन हुन नसक्ने स्पष्ट पारे ।
गण्डकी विश्वविद्यालयका डिन डा कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा स्थानीय सरकारले जोड दिनुपर्ने बताए । उनले पछिल्लो पुस्तामा प्रश्न सोध्नेभन्दा पनि मौन रहने र समस्याबाट भाग्ने प्रपृत्तिका रहेको औंल्याए । समस्यासँग जुध्नेभन्दा पनि भाग्ने प्रकृतिले युवा पुस्ता पलायन हुँदै गएको उनको भनाइ छ ।
समापन कार्यक्रमका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले प्रविधिले युवा र देशलाई परिवर्तन गर्ने जनाए । अध्यक्ष थापाले युवा पुस्ताले प्रविधिको सिकाईपछि त्यसलाई आयआर्जनको माध्यमका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा २६ की वडा सदस्य सुजता बराल सुनार, पोखरा विश्वविद्यालयका आइटी विभाग संयोजक डा राममणि अधिकारी, कन्टेन क्रियटर मिस गाइडेड नेपाल युटयुब च्यानलका अमृत थापा, लक्ष्मी आदर्श मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुराखर अधिकारी, पोखरा २६ का सूचना अधिकारी नवराज सापकोटा, कार्यक्रम संयोजक सन्दीप पौडेल लगायतले बोलेका थिए ।
तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाइनमा ४५, रोवटिक्समा २९ र व्यक्तित्व विकासको तालिममा १८ जना सहभागी थिए । समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले तयार गरेको रिमोट कन्ट्रोल रोवटिक्स प्रदर्शनीमा राखिएको थियो ।