पोखराको चरक हस्पिटल १४ औं वर्षमा : बटुकलाई आर्थिक सहयोग र रक्तदानसहित वार्षिकोत्सव

voiceofgandaki

पोखरा– पोखराको नागढुंगास्थित चरक मेमोरियल हस्पिटल प्रा.लि. ले विविध कार्यक्रम गरी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । हस्पिटल आइतबारदेखि स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बटुकहरूलाई नगद सहयोग तथा रक्तदान कार्यक्रम आयोजना गर्यो । प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार आइतबार आयोजित समारोहमा बटुकहरूलाई ३० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । यसअघि शनिबार हस्पिटल परिसरमा रक्तदान कार्यक्रम गरिएको थियो ।

सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने डाक्टर तथा कर्मचारीलाई अवार्ड वितरण गर्नुका साथै शुभकामना आदानप्रदानसमेत गरिएको पोखरेलले जानकारी दिए ।

विसं २०६९ मंसिर १० गते स्थापना भएको यो हस्पिटलले गुणस्तरीय सेवामा जोड दिँदै आएको छ । प्रबन्ध निर्देशक पोखरेलले अहिलेसम्म साथ दिने सेवाग्राही, कर्मचारी र चिकित्सकप्रति आभार व्यक्त गरे । ‘पोखरा तथा आसपासका जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित हस्पिटलले धेरै सेवाग्राहीको विश्वास जित्न सफल भएको छ,’ उनले भने, ‘आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिष्कृत र परिमार्जन गरी स्तरीय सेवा प्रदान गर्नेछौँ ।’

पोखराको मुख्य सहरी क्षेत्र नागढुंगामा रहेको यो ‘मल्टी–स्पेशालिटी’ हस्पिटल १०० शय्या क्षमतामा सञ्चालनमा छ । अत्याधुनिक उपकरण र नवीनतम प्रविधि जडान गरिएको हस्पिटलको ७ तले भवन भूकम्प प्रतिरोधी हुनुका साथै हेलिप्याडको सुविधासमेत रहेको व्यवस्थापन पक्षले जनाएको छ ।

प्रतिक्रिया