गण्डकीमा जेन–जी आन्दोलनको प्रभाव : प्रदेशका ४३ चारपांग्रे, १०२ दुईपांग्रे सवारी साधन जले

voiceofgandaki

पोखरा । जेन–जी आन्दोलनको क्रममा गण्डकी प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालय तथा कार्यालयमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार ४३ वटा चारपांग्रे र १०२ वटा दुईपांग्रे सरकारी सवारी साधनमा तोडफोड र आगजनी भएको छ । साथै, दुईवटा निजी मोटरसाइकल पनि जलेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश ढकालले सोमबार दिएको जानकारीअनुसार तोडफोड र आगजनीमा परेका सबै सवारी साधन प्रयोग अयोग्य भएका छन् । “सवारी साधन लगायत आगजनी र तोडफोडका क्रममा भएको क्षतिको विवरण संकलन भइरहेको छ,” उनले भने, “यकिन विवरण आउन केही दिन लाग्छ ।”

प्रदेश राजधानी पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ६ वटा मन्त्रालयमा आगजनी र तोडफोड भएको छ । सो क्रममा चारजना मन्त्रीहरूका सरकारी आवास (क्वार्टर) मा समेत क्षति पुगेको ढकालले बताए ।

कृषि, स्वास्थ्य र अर्थ मन्त्रालयमा भने भौतिक क्षति खासै नभएको तर अन्य मन्त्रालय तथा कार्यालयहरूमा आगजनीले व्यापक असर पारेको जनाइएको छ । मन्त्रालय तथा कार्यालयहरूमा सेवा सञ्चालन केही समय ढिलो हुने सम्भावना प्रदेश सरकारका अधिकारीहरूले बताएका छन् ।

प्रदर्शनका कारण गण्डकी प्रदेशको प्रशासनिक कामकाज प्रभावित बनेको छ भने सार्वजनिक सम्पत्तिमा भएको ठूलो क्षतिबारे अझै विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया