सुनील उलक
पोखरा ।
आजको ठीक ५३ वर्ष अगाडि समुद्घाटन भएको एस.पि.आर. अर्थात् सुनौली पोखरा रोड, जसलाई पछि सिद्धार्थ राजमार्ग नामाकरण गरिएको थियो।
नेपालको पहिलो पञ्चवर्षीय योजनाको सुरुआतका साथसाथै भारतले सन् १९५६-६१ का लागि रू. १० करोड सहयोग राशिको बचन दिएको थियो। तर सो पाँच वर्षमा भारतले दिने भनेको रकम पूरा खर्च भएन, रू. ४ करोड रकम बच्यो। साथै भारतले नयाँ पञ्चवर्षीय योजनाका लागि अर्को रू. १४ करोड दिने तयारी समेत गर्यो। जसले गर्दा सन् १९६१-६६ का लागि जम्मा रू. १८ करोडको आर्थिक सहयोग भारतले नेपाललाई दिने भयो। यो रकम सन् १९५६-६१ का योजना पूरा हुन नसकेका लागि पनि पूरा गर्ने बचन दिइएको थियो।
सुनौली पोखरा रोड बनाउने विषयमा प्रधानमन्त्री नेहरुले नै विशेष चासो राखेका थिए। यसै क्रममा निर्माण, आवास तथा पुनर्वास मन्त्रालयका सचिव प्रेम किशनको कार्यकक्षमा ७ फेब्रुअरी १९६४ मा विशेष छलफल भएको थियो। सो छलफलमा सोही मन्त्रालयका उपसचिव एस. चौधरी, सहसचिव आर.सी. मेहरा, विदेश मन्त्रालयका सचिव एम.जी. कौल, उपसचिव एम. रसगोत्रा, इन्डिया एड मिसनका डाइरेक्टर डि.आर. कोहली, यातायात मन्त्रालयको सडकतर्फका अतिरिक्त परामर्शदाता इञ्जिनियर गोवर्धन लाल, केन्द्रीय लोक निर्माण विभागका मुख्य इञ्जिनियर एन.जी. देवान, सह मुख्य इञ्जिनियर वि.आर. वैस, सुपरिवेक्षण इञ्जिनियर बि.डी. आहुजा तथा प्रशासन निर्देशक के.सी. जोशी सहभागी भएका थिए।
शुरुमा २ करोड ४० लाख भारतीय रुपैयामा सम्पन्न हुने भनिए पनि पछि १० करोड लाग्ने अनुमान गरिएको थियो।
२०२१ भदौ १० गते अर्थात् १९६४ अगष्ट २५ का दिन भारत सरकार र नेपाल सरकार बीच १५ बुँदे सम्झौता भयो। जसमा भारतका तर्फबाट भारतीय विदेश मन्त्री सरदार स्वर्ण सिंहले हस्ताक्षर गरेका थिए भने नेपालका तर्फबाट मन्त्रिपरिषदका उपाध्यक्ष तथा आर्थिक योजना मन्त्री सूर्यबहादुर थापाले हस्ताक्षर गर्नुभएको थियो। सम्झौता अनुसार ९.११ करोड भारतीय रुपैयाको भारतीय सहयोगमा भारतीय सिमाना सुनौलीबाट पोखरासम्म राजमार्ग बनाउने योजना थियो। यो राजमार्ग २०२५ सालको पुष १७ गते अर्थात् १९६८ को डिसेम्बर ३१ सम्म तैयार हुने लक्ष्य राखिएको थियो। तर यो सडक समयमा पूरा हुन सकेन। दुई वर्ष बढी लाग्यो।
यसै बीच २०२७ सालको असारको पहिलो हप्तामा परेको भीषण वर्षातले बनिसकेका तथा तयारी हुँदै गरेका कतिपय सडकहरूमा पहिरो आइ क्षति पुर्यायो। यसरी प्राकृतिक प्रकोपले क्षति भएको पुनर्निर्माणका लागि लाग्ने खर्च ७६ लाख ३३ हजार भारतीय रुपैया नेपाल सरकारले दिने आशा राखिएको थियो। तर सो रकम नेपाल सरकारले उपलब्ध गराउन नसक्ने भएपछि अन्ततः भारत सरकारले नै खर्च गरी मर्मत कार्य गरिदियो। २०२७ सालको पुष १६ गतेसम्ममा राजमार्गका सडक त तैयार भए। तर यहाँ बीचमा परेको कालीगण्डकी माथिको राम्दीको पुल भने बनेन। भारत सरकारले दुई वर्षका लागि अवधि पुनः थपेर २०२८ सालको अन्त्यसम्म तैयार गरायो।
अन्ततः २०२९ बैशाख २४ गते तदनुसार सन् १९७२ मे ६ तारिखका दिन राजा विरेन्द्रले अटोमेटिक बटन दबाएर राजमार्गको समुद्घाटन गर्नु भएको थियो। पोखराको बिरौटामा भएको कार्यक्रमपछि राजा चढेको जीप केही किलोमिटर गुडाइएको थियो भने बस नं ११० नम्बरको टाटा बस पहिलो दिन पोखराबाट सुनौलीतर्फ लागेको थियो।
२०२६ सालतिर पोखरा काठमाडौं सडक बनेको थिएन। सुनौली पोखरा सडक बन्न थाल्दै थियो। साथै कतिपय ठाउँमा ग्राभलको काम सकिएको थियो भने कतिपय ठाउँमा हुँदै थियो। सडकको रूपरेखा कोरिन थालेपछि नै सडकमा गाडी गुड्न पनि थालिसकेको थियो। पोखराका सडकमा पनि गाडी, जीप, बस तथा लरीहरू आउन थालिसकेका थिए। सामानको आपूर्ति पनि सोही सडकबाट हुन थालिसकेको थियो। पोखराका व्यापारीहरूले भरियाबाट सामान बोकाएर ल्याउनुको सट्टा ट्रकबाट सामान ल्याउन थालिसकेका थिए।
सडकको रूपरेखा बने पनि कालीगण्डकी माथि बन्नुपर्ने पुल नबनेकाले समस्या थियो। यसैले ठूला ठूला घाटहरूमा ठूला ठूला डुङ्गाहरूलाई एकअर्कामा बाँधेर ट्रक, बस, जीप र लरीहरूलाई तार्ने गरिन्थ्यो। यसरी नै यहाँ देखाइएको एक तस्बिरमा राम्दीघाटमा बेलायती अन्नपूर्ण आरोहण अभियानका १४५ बाकसका सामग्री ट्रकमा तथा एक जीपलाई कालीगण्डकी तारिदैछ। यी सामग्रीहरू बेलायतदेखि बम्बइसम्म पानीजहाजमा ल्याइएका थिए भने बम्बइबाट नौतनवासम्म रेलमा ल्याइएका थिए। नौतनवा पछि भने सडकबाट पाल्पाको दर्लामडाँडा सम्म ल्याइएको थियो। त्यसपछि राम्दीघाटमा फेरिबाट कालीगण्डकी तारिएको थियो। अन्य तस्बिरहरू पनि राजमार्ग बन्नु अगाडि र बन्दै गरेको अवस्थाका राखिएका छन्।
सुनील उलकको फेसबुकबाट लिइएको सामग्री