सहकारीलाई मर्यादित बनाउन कर्मचारीलाई ‘कोपोमिस’ तालिम

voiceofgandaki

पोखरा ।

पोखराको तालचोकमा तीनदिने ‘कोपोमिस’ तालिम सम्पन्न भएको छ । सहकारी गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) बारे जानकारी दिन तालिम आयोजना गरिएको हो । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको तालिममा कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले समन्वय गरेको थियो ।

गत ८ मंसिरबाट सुरु भएको तालिममा कास्कीका ३० वटा सहकारीका प्रतिनिधि सहभागी थिए । सहकारीलाई सुदृढीकरण एवं मर्यादित बनाउन तालिम आयोजना गरिएको कार्यालयका रजिष्ट्रार भेषराज रिजालले बताए ।

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीले सहकारी कार्यान्वयनको मुख्य पाटो कर्मचारी भएको बताए । कर्मचारीले नियामक निकायमा पेस गर्नुपर्ने सम्पूर्ण तथ्यांक प्रविष्ट गर्नुपर्नेमा उनले जोड दिए । सहकारीको मूल्य मान्यतामा आधारित भएर चल्ने हो भने समूहको लक्ष्य हासिल गर्न सहकारी नै एकमात्र विकल्प हुने उनको भनाइ छ ।

तालिममा रजिष्ट्रार रिजाल, कार्यक्रम अधिकृत सूर्यप्रसाद आचार्य र अधिकृत चोलाकान्त वाग्लेले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन अधिकृत आचार्यले गरेका थिए । रजिष्ट्रार रिजालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङ लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया