बाबुको हत्यामा संलग्न छोरालाई पुर्पक्षका लागि कारागार चलान

voiceofgandaki

पर्वत । 

आफ्नै बाबुको कुटपिटबाट ज्यान गएको आरोपमा पर्वतका एक व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्। पर्वत जिल्ला अदालतको आदेशअनुसार जलजला गाउँपालिका–८ का ४६ वर्षीय श्रीलाल दमाईलाई पुर्पक्ष थुनामा राखिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार, श्रीलालले वैशाख ४ गते राति करिब ११ बजे आफ्ना ७० वर्षीय बुबा प्रेमलाल दमाईमाथि कुटपिट गरेका थिए। मादक पदार्थ सेवन गरेका श्रीलालले छुट्टै घरमा बस्दै आएका बुबाको कोठामा प्रवेश गरी सुतिरहेको अवस्थामा टाउको भित्तामा ठोक्काउँदै कुटपिट गरेका थिए।

गम्भीर घाइते भएका प्रेमलालको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा प्रारम्भिक उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा लगिए पनि दुबै अस्पतालले उपचार सम्भव नभएको बताएपछि एम्बुलेन्समार्फत घर फर्काइँदै गर्दा वैशाख ६ गते बाटोमै उनको मृत्यु भएको थियो।

परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराएपछि प्रहरीले श्रीलाललाई पक्राउ गरेको थियो। वैशाख ३१ गते अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया