म्याग्दी ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लाभित्रका जोखिमपूर्ण सडकखण्डमा रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनलाई राति चल्न नदिने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको पहलमा साउन १२ गते बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी लगायत सरोकारवालासँगको छलफलपछि प्रशासनले सूचना जारी गरेको छ । सूचना अनुसार बेनी-जोमसोम, बेनी-दरबाङ, बेनी-बागलुङ लगायत जिल्लाभित्रका अन्य जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन यातायात बन्द गरिएको हो ।
प्रशासनले बर्खाको समयमा सुरक्षा सतर्कता अपनाउन र बाढी, पहिरोबाट यात्रु, सवारी साधन तथा जनधनको क्षति रोक्नका लागि सजगता अपनाउन सबैमा आग्रह गरेको छ । यो सूचना सम्बन्धित सबैको जानकारी र सचेतनाका लागि जारी गरिएको प्रशासनले जनाएको छ ।
