बागलुङ । बागलुङ नगरपालिकाले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहको न्यायिक तथ्यांक समावेश गरिएको ‘न्यायिक समिति दर्पण’ सार्वजनिक गरेको छ ।
बागलुङ नगरपालिका न्यायिक समितिको सचिवालयले तयार पारेको उक्त पुस्तकको सोमबार नगर प्रमुख वसन्तकुमार श्रेष्ठ र जिल्ला अदालत बागलुङकी न्यायाधीश सीता शर्मा अधिकारीले संयुक्त रूपमा विमोचन गरे ।
दर्पणमा प्रदेशका सबै पालिकामा हालसम्म परेका निवेदन, मुद्दाको संख्या र प्रकृति, ती मुद्दाको फैसला, मेलमिलाप, तामेली तथा पुनरावेदनसम्बन्धी विवरण समेटिएको छ । गत वैशाखमा बागलुङमा भएको गण्डकी प्रदेशस्तरीय न्यायिक समितिको सम्मेलनपछि तथ्यांक संकलन गरेर यो पुस्तक तयार पारिएको हो ।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठले यो दर्पणले ११ जिल्लाका ८५ वटै स्थानीय तहलाई एकसूत्रमा जोड्ने काम गरेको बताए । न्यायिक समितिको इतिहास र अनुभवको दस्तावेजका रूपमा यो पुस्तक आएको उनको भनाइ छ ।
‘गाउँमा सिंहदरबार आएझैँ जनताको घरदैलोमा न्याय पुर्याउन स्थानीय तह सफल हुनेछन्,’ प्रमुख श्रेष्ठले भने, ‘न्यायिक समितिले जिल्लादेखि सर्वोच्च अदालतसम्मको मुद्दाको चाप घटाउन पनि योगदान गरेको छ ।’
जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीले प्रकाशित दर्पण गण्डकी प्रदेशकै न्याय निरुपणमा कोसेढुंगा बन्ने बताइन् । संविधानले नै न्यायिक समितिको परिकल्पना गरेको र यसको फैसलाविरुद्ध जिल्ला अदालतमा पुनरावेदन लाग्ने व्यवस्थाले माथिल्लो अदालतमा मुद्दाको चाप कम हुने उनले बताइन् । उनले भनिन्, ‘अदालतको अपेक्षा पनि जनताले घरदैलोमै सहज रूपमा न्याय पाऊन् भन्ने हो ।’
नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक राजु खड्काले न्यायिक समितिको इतिहासलाई लिपिबद्ध गर्न र आगामी दिनमा काम गर्न सजिलो होस् भनेर पुस्तक प्रकाशन गरिएको जानकारी दिए । सचिवालयले सबै पालिकासँग सम्पर्क गरेर तथ्यांक संकलन तथा विश्लेषण गरेको उनले बताए ।
सार्वजनिक गरिएको दर्पणमा गण्डकी प्रदेशभरका स्थानीय तहमा गरी कुल ११ हजार ९ सय २३ निवेदन तथा मुद्दाको तथ्यांक प्रस्तुत गरिएको छ । बागलुङ जिल्लामा मात्रै आठ वर्षको अवधिमा १ हजार २ सय ३१ मुद्दा हेरिएको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा मात्रै २४ वटा मुद्दा दर्ता भएकोमा ८ वटा मेलमिलाप भएको उपप्रमुख खड्काले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशभरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको भर्चुअल उपस्थिति थियो । कार्यक्रम संयोजक खड्काको अध्यक्षता, वडा नम्बर ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमको स्वागत र न्यायिक सहजकर्ता ज्ञानेन्द्रराज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।