काठमाडौं — नेपाल राष्ट्र बैंकले एटिएमबाट निकाल्न सकिने रकमको सीमा घटाएको छ। नयाँ निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डमार्फत एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्रै झिक्न सकिनेछ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रका अनुसार एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र एक महिनामा ३ लाख रुपैयाँसम्म मात्र निकासी गर्न सकिने व्यवस्था गरिएको छ।
यसअघि एक पटकमा २५ हजार, एक दिनमा १ लाख र एक महिनामा ४ लाख रुपैयाँसम्म निकाल्न पाइन्थ्यो।
राष्ट्र बैंकले यो नयाँ सीमा लागू गर्नुको उद्देश्य डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने र नगद प्रयोगमा नियन्त्रण ल्याउने रहेको स्पष्ट गरेको छ।
२७ असोज २०८२, सोमबार ०६:२३ मा प्रकाशित