पत्रकार जीवन्त वाग्ले अमेरिकामा गम्भीर बिरामी, शल्यक्रियाको डेढ सातासम्म पनि होस फर्किएन

voiceofgandaki

अमेरिका । 


नेपाल अमेरिका पत्रकार संघ (नेजा) का आजीवन सदस्य जीवन्त वाग्ले गम्भीर बिरामी परेका छन्। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा बस्दै आएका वाग्ले ‘मस्तिष्कको ट्युमर’ बाट ग्रस्त भएका छन्।

क्यालिफोर्नियाको वालनटक्रिकस्थित जोन म्युअर अस्पतालमा उनको ‘मस्तिष्कको ट्युमर’ को शल्यक्रिया गरिएको हो। उनी हाल अस्पतालमै उपचाररत छन्। सन् २०२५ जुलाई ७ सोमबार शल्यक्रिया गरिएकोमा हालसम्म पनि पूर्ण होस नआइसकेको जानकारी उनकी धर्मपत्नी नम्रता बास्तोलाले नेजाका पदाधिकारीलाई दिएकी छन्।

जुलाई ६ मा अत्यधिक टाउको दुखेपछि मार्टिनेज अस्पतालको आपत्कालीन कक्षमा गएका वाग्लेलाई सोही रात जोन म्युअर अस्पताल पठाइएको थियो। ट्युमरको बायोप्सी प्रतिवेदन आएपछि उनको रोगबारे थप यकिन हुने र चिकित्सकले उपचार योजना बताउने जानकारी परिवारले दिएको नेजाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।


शल्यक्रियापछि के-कस्तो उपचार गर्नुपर्छ र कति समय लाग्छ भन्ने अहिलेसम्म अनिश्चित छ। साथै, वाग्ले पूर्ववत् अवस्थामा फर्कन सक्छन् वा सक्दैनन् भन्नेबारे पनि निश्चित नभएको चिकित्सकको भनाइ छ।

उनी आबद्ध संस्था ‘नेजा’ का महासचिव ईश्वरी न्यौपानेले विज्ञप्तिमार्फत उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया