काठमाडौं ।
एडम रोसिङटनको विष्फोटक शतकको मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको छ । यो जितसँगै पोखराले प्लेअफ पुग्ने सम्भावना कायमै राख्दा लगातार खराब प्रदर्शन गरेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।
त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको २ सय २ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १ सय ६७ रनमै समेटियो । ५ खेलमा दोस्रो जित निकालेको पोखराले ४ अंक जोडेको छ । यसअघि पोखराले जनकपुर बोल्ट्सलाई हराएको थियो । उता ६ खेलमा पाँचौं हार बेहोरेको कर्णालीको प्लेअफ यात्रा भने टुंगिएको छ । अब कर्णालीले आइतबार लिगको अन्तिम खेलमा जनकपुरसँग खेल्नेछ ।
वाटको संघर्ष काम लागेन
विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीका ओपनर मार्क वाटले आक्रामक ब्याटिङ गरे पनि टोलीलाई जिताउन सकेनन् । उनले २२ बलमै अर्धशतक पूरा गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । वाटले सर्वाधिक ५९ रन बनाए । उनले प्रियांक पन्चसँग पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरे । तर, पन्चल ११ बलमा १६ रन बनाएर चौथो ओभरमा आउट भए । त्यसपछि आएका जयकिशन कोल्सावाला पनि ६ रनमै पेभेलियन फर्किए ।
एक छेउबाट आक्रामक ब्याटिङ गरिरहेका वाट १० औं ओभरको पाँचौं बलमा आउट भएपछि खेल पोखराको पक्षमा ढल्कियो । उनलाई किरण ठगुन्नाको बलमा तृतराज दासले क्याच गरे । त्यसपछि कर्णालीको इनिङ धराशायी बन्यो । नजिबुल्लाह जद्रानले २४, पवन सर्राफले १९ र गुल्सन झाले ९ रन मात्र जोड्न सके । १८ औं ओभरमा दीपेन्द्र रावत र सोमपाल कामी आउट भएपछि कर्णालीको आशा समाप्त भयो ।
बलिङतर्फ पोखराका धनञ्जय लक्षणले ४ ओभरमा ३१ रन र ऋषि धवनले ४ ओभरमा ३७ रन खर्चिएर समान ३–३ विकेट लिए । सन्दीप खत्री क्षेत्री, किरण ठगुन्ना र कप्तान कुशल भुर्तेलको नाममा १–१ विकेट रह्यो ।
रोसिङटनको सानदार शतक
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १ रनको विशाल योगफल तयार पारेको थियो । एनपिएलको जारी सिजनमा २ सय रन कट्ने यो दोस्रो पटक हो । यसअघि विराटनगर किंग्सले पोखरा विरुद्ध नै २ सय २० रन बनाएको थियो ।
ओपनर रोसिङटनले ५८ बलमा अविजित १ सय ८ रनको शतकीय इनिङ खेले । उनले ११ चौका र ७ छक्का प्रहार गरे । १९ औं ओभरको अन्तिम बलमा नन्दन यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरेका थिए ।
दिनेश खरेललाई बेन्चमा राख्दै कप्तान कुशल भुर्तेल आफैं रोसिङटनसँग ओपनिङमा आएका थिए । उनीहरूले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरे । भुर्तेल १८ रनमा आउट भए । त्यसपछि रोसिङटनले सोमबार मात्रै टिममा जोडिएका इंग्लिस ब्याटर जेसन रोयसँग मिलेर १ सय २७ रनको साझेदारी गरे । यो प्रतियोगिताको दोस्रो ठूलो साझेदारी हो ।
डेब्यु खेलमै रोयले ३४ बलमा ४६ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । धनञ्जय लक्षण २३ रनमा अविजित रहे । कर्णालीका नन्दन यादव र मार्क वाटले १–१ विकेट लिए ।
१७ मङ्सिर २०८२, मङ्गलबार ०७:४८ मा प्रकाशित