बागलुङ कांग्रेसद्वारा उम्मेदवारको लर्को केन्द्रमा सिफारिस : प्रत्यक्षदेखि समानुपातिकसम्म को-को परे ?

voiceofgandaki

बागलुङ । नेपाली कांग्रेस बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नामावली केन्द्रमा पठाएको छ । क्षेत्रीय समितिबाट सिफारिस भएर आएका आकांक्षीहरूको नामलाई जिल्ला कार्यसमितिको बैठकले रायसहित प्रदेश समिति मार्फत केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको हो ।

कांग्रेस बागलुङका सचिव हरिहर शर्माका अनुसार जिल्लाले उम्मेदवार छनोटमा हस्तक्षेप नगरी प्रक्रियागत रूपमा नाम पठाएको छ । ‘उम्मेदवारको सिफारिस गर्ने अधिकार क्षेत्रीय समितिलाई छ, जिल्लाले आफ्नो राय मात्रै दिने हो,’ सचिव शर्माले भने, ‘हामीले रायसहित क्षेत्रबाट आएको नामलाई नै प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाउने निर्णय गरेका छौं ।’

क्षेत्र नम्बर १ : प्रत्यक्षमा १० जनाको नाम
प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट कुल १९ जनाको नाम सिफारिस भएको छ । जसमध्ये प्रत्यक्षतर्फ १० जना आकांक्षी देखिएका छन् । सिफारिस हुनेमा केन्द्रीय सदस्य किरणराज पौडेल, पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेशका पूर्वमन्त्री मणिभद्र शर्मा कँडेल, पूर्व पार्टी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल छन् ।

त्यस्तै, कांग्रेस महासमिति सदस्य एवं पूर्व त्रिवि सभापति भीम श्रीष, नेविसंघका पूर्व उपाध्यक्ष सागर परियार, पूर्व जिल्ला सदस्य हरि आचार्य, जिल्ला सदस्य जगन्नाथ आचार्य, प्रदेश सभा (ख) का सभापति दलबहादुर श्रीष राना, नेपाल महिला संघ बागलुङका अध्यक्ष सीता सापकोटा कँडेल र नेविसंघ केन्द्रीय सदस्य सुजन सापकोटाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन, पूर्व जिल्ला सभापति हरिप्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधिहरू शकुन्तला शर्मा, पार्वती आचार्य, शेरबहादुर विश्वकर्मा (तरुण दल केन्द्रीय सदस्य), पदमबहादुर पुन र डा. रामबहादुर केसी (प्रदेश स्वास्थ्य विभाग सहसंयोजक) गरी ७ जना सिफारिस भएका छन् । राष्ट्रिय सभा सदस्यका लागि जैमिनी नगरपालिकाका निवर्तमान नगरप्रमुख इन्द्रराज पौडेल र महाधिवेशन प्रतिनिधि विष्णु पौडेल ‘दारी’ को नाम पठाइएको छ ।

क्षेत्र नम्बर २ : पूर्व सांसददेखि नगरप्रमुखका प्रत्यासीसम्म
क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ १० जना, समानुपातिकमा ४ जना र राष्ट्रिय सभामा ३ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ सिफारिस हुनेमा अर्जुन शेरचन, टेकराज पौडेल, नरबहादुर पुन ‘निरज’, मञ्जेशबम मल्ल, गीता श्रीष, ध्रुव गौतम, डण्डपाणी शर्मा, ऋषिराम कँडेल, डिलाराम शर्मा र देवेन्द्रकुमार घर्ती मगर छन् ।

सिफारिस भएकामध्ये अर्जुन शेरचन २०७४ को स्थानीय तह निर्वाचनमा ढोरपाटन नगरपालिकाको प्रमुखमा पराजित भएका थिए । टेकराज पौडेल १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए । नरबहादुर पुन २०६४ को संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । मञ्जेशबम मल्ल २०७४ को प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनसँग पराजित भएका थिए ।

यस क्षेत्रबाट समानुपातिकतर्फ रेणुका काउचा मगर, सागर छन्त्याल, मायाकुमारी केसी र भिमु क्षेत्रीको नाम सिफारिस भएको छ । काउचा २०७४ मा गलकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभातर्फ वरिष्ठ अधिवक्ता रामप्रसाद आचार्य, डा. शान्तराज न्यौपाने र मेशलाल शर्माको नाम सिफारिस गरिएको छ ।

सदस्यता नवीकरण र भवन निर्माण
जिल्ला सभापति जितबहादुर शेरचनको अध्यक्षतामा बसेको बैठकले वीपी स्मृति भवन निर्माण सम्पन्न गर्न सहयोगको आह्वान गरेको छ । साथै, आगामी महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरणको काम तीव्र पारिएको छ । सचिव शर्माले भने, ‘क्षेत्र नम्बर २ को सदस्यता नवीकरणको फाइल इन्ट्री सुरु भइसक्यो । क्षेत्र नम्बर १ को विवरण आएपछि मंसिर २९ गते राति १२ बजेभित्र यो काम सम्पन्न गर्छौं ।’

प्रतिक्रिया