राजनीतिमा लाग्न अब ‘प्रो पोलिटिसियन’ तालिम, २४ वटा विषयमा विज्ञद्वारा प्रशिक्षण

भ्वाइस अफ गण्डकी

काठमाडौं। पहुँच र शक्तिका भरमा मात्र राजनीति गर्ने परिपाटी अन्त्य गर्दै दक्ष नेतृत्व उत्पादन गर्न नेपाल पोलिटिकल एकेडेमीले विशेष प्रशिक्षण कक्षाहरु सञ्चालनमा ल्याएको छ। राजनीतिलाई व्यवस्थित र मर्यादित अध्ययन क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले ‘प्रो पोलिटिसियन’ कोर्स नै डिजाइन गरेर संस्थाले तालिम दिन थालेको हो।

नेपालमै पहिलो पटक र एक मात्र राजनीतिक प्रशिक्षण दिने संस्थाका रूपमा स्थापित एकेडेमीले राजनीतिमा लाग्न, बुझ्न र सफल हुन चाहनेहरुका लागि वैज्ञानिक तवरले कक्षा सञ्चालन गरिरहेको छ। कार्यक्रम संयोजक सोम कुस्कुमाझीले नेपालमै पहिलो पटक यस्तो कार्यक्रम सुरु भएको जानकारी दिए। उनले भने, 'यो तालिमले राजनीतिक क्षेत्रमा सफल हुन आवश्यक पर्ने ज्ञान र सीप सहज तरिकाले प्रदान गर्छ।'

एक दक्ष राजनीतिज्ञ बन्न आवश्यक पर्ने करिब २४ वटा विषयमा यहाँ प्रशिक्षण दिइने व्यवस्था मिलाइएको छ। यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फरक–फरक विषयविज्ञ ट्रेनरहरुले प्रशिक्षण दिइरहेका छन्। एकेडेमीका अनुसार यो तालिमको कोर्स र विषयवस्तुको डिजाइन अन्तर्राष्ट्रिय स्तरमा गरिएको हो, जसका लागि मात्रै ३ वर्ष लागेको थियो।

सामान्यतया राजनीतिमा अनुभव सँगाल्न, सिक्न र बुझ्न २०औं वर्ष लाग्ने विषयलाई एकेडेमीले छोटो समयमै बुझाउने दाबी गरेको छ। वैज्ञानिक तवरले तयार पारिएको पाठ्यसामग्रीका कारण प्रशिक्षार्थीले राजनीतिक दाउपेच, सिद्धान्त र व्यावहारिक पक्ष सहजै सिक्न सक्नेछन्। अहिलेसम्म सर्वसाधारणदेखि वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रका उच्च ओहोदामा रहेका व्यक्तित्वहरुले तालिम लिइसकेको संस्थाले जनाएको छ। सहभागी प्रशिक्षार्थीहरुले तालिमलाई निकै महत्वपूर्ण र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।

नेपालका विभिन्न संस्था र राजनीतिक दलहरुसँग पनि यो ‘प्रो पोलिटिसियन’ तालिमका लागि कुराकानी भइरहेको छ। निकट भविष्यमै ती दलका नेता तथा कार्यकर्तालाई पनि तालिम दिइने योजना रहेको संस्थाका पदाधिकारीले बताएका छन्। अहिलेको नेपाली राजनीति जानेर वा बुझेर भन्दा पनि ‘पावर’ र पहुँचका आधारमा चलिरहेको सन्दर्भमा यो कोर्सले नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

मुलुकमा स्थायी शान्ति, राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि यो तालिम अपरिहार्य रहेको विज्ञ र राजनीतिक विशेषज्ञहरुले औंल्याएका छन्। राजनीतिलाई घृणा गरे पनि वा मन नपराए पनि देशको भविष्य निर्धारण गर्ने प्रणाली यही भएकाले सचेत नागरिकले यसबारे बुझ्न आवश्यक रहेको एकेडेमीको ठहर छ। एकेडेमीका पदाधिकारीका अनुसार परम्परागत राजनीतिक अभ्यासलाई नयाँ दृष्टिकोण र ज्ञानका साथ परिष्कृत गर्नु आजको आवश्यकता हो। यसले राजनीतिक नेतृत्वमा नवीनता ल्याउने र युवाहरुलाई सही दिशामा आकर्षित गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया