रुपाताल किनारमा ३०० बिरुवा रोपियो

voiceofgandaki

पोखरा 

विश्व वातावरण दिवस २०२५ को अवसरमा पोखराको सबैभन्दा पुरानो सामुदायिक क्याम्पस, पोखरा बहुमुखी क्याम्पसका विद्यार्थीहरूले ताल किनारमा लालुपाते र कल्की फूलका तीन सयवटा बिरुवा सारेका छन् ।

पोखराको रुपाताल जैविक विविधताको दृष्टिकोणले गण्डकी प्रदेशकै उत्कृष्ट मानिन्छ । यो ताल पोखराको फेवातालसहित अन्य सातवटा तालसँगै सन् २०१६ मा विश्व रामसार सूचीमा सूचीकृत भएको हो । यो ताल साइबेरियाबाट बसाइँ सरेर आएका २२ प्रजातिका चराहरूको मुख्य बासस्थानका रूपमा परिचित छ । 

वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था ’सेभ आवर हिमालय फस्र्ट’को आयोजना तथा रुपा गाउँपालिकाको सहयोगमा यो कार्यक्रम भएको हो । कार्यक्रमको संयोजन पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले वातावरण संरक्षणका लागि स्थापना गरेको नेचर क्लबले गरेको हो ।

‘समग्र समुदाय, देश र विश्वले युवा शक्ति खोजिरहेको छ, किनभने युवाको चासो र सक्रियताले विकासका लागि भएका कामहरूलाई छिटो, छरितो र जनचासोपूर्ण बनाउन खबरदारी, प्रोत्साहन र दबाब सिर्जना गर्छ,’ क्लबका अध्यक्ष गणेश रामदामले भने ।

विद्यार्थीहरूले रुपा गाउँपालिका वडा नम्बर ६ मा पर्ने रुपातालको काठेपुलदेखि भंगारा विद्यालयसम्म करिब एक किलोमिटर दूरीको ताल किनारमा वृक्षरोपण गरेका हुन् । 

विद्यार्थीहरूको वृक्षारोपण अभियानलाई सम्बोधन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले वर्तमान समयमा वातावरण संरक्षण सबैको चिन्ता र चासोको विषय भएको बताउँदै जैविक विविधताको दृष्टिकोणले प्रदेशकै महत्वपूर्ण रुपातालको संरक्षणमा चासो राखेकोमा आफू गौरवान्वित भएको बताए । उनले विद्यार्थीले सारेका बिरुवाको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयवासीको साथ र सहयोगको अपेक्षा गरे ।

विद्यार्थीहरूले पोखराको वातावरण जोगाउन देखाएको चासो र चिन्ताप्रति सम्बन्धित सरोकारवाला र स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । ‘पृथ्वीको तापमान बढ्दै गएको बेला, युवा वर्ग वातावरण जोगाउन अग्रसर हुनु वास्तवमै गर्विलो कुरा हो,’ सेभ आवर हिमालय फस्र्ट नेपालका अध्यक्ष डिबी नेपालीले भने ।

वृक्षारोपण कार्यक्रममा रुपा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य सरिता सुनार, स्थानीय रुपा पुनस्र्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारी, पोखरा बहुमुखी क्याम्पसका प्राध्यापक पुष्पराज अधिकारीलगायतले स्थानीय युवा तथा विद्यार्थीहरूलाई प्रोत्साहन व्यक्त गरेका थिए । 


प्रतिक्रिया