पोखराका ४४० विद्यार्थीलाई पोउवा संघको न्यानो उपहार

voiceofgandaki

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४४० जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच किडासाको सहयोगमा ती सामग्री प्रदान गरिएको हो ।

केन्द्रले सञ्चालन गरिरहेको ‘जीविकोपार्जन तथा शिक्षा कार्यक्रम’ अन्तर्गत सहरी क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका छात्रछात्राहरू लाभान्वित भएका हुन् ।

कार्यक्रममा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली, संघका अध्यक्ष गोकर्ण कार्की, संघका पूर्वअध्यक्ष एवं सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचन, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले विद्यार्थीलाई सामग्री हस्तान्तरण गरे ।

वडाध्यक्ष पराजुलीले छोराछोरीलाई विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पूरा नहुने बताए । बालबालिकालाई असल मार्गमा लगाउन अभिभावकले निरन्तर निगरानी गर्नुपर्नेमा उनले जोड दिए । ‘छोराछोरीले के गरिरहेका छन् भन्ने जानकारी राखे मात्र राष्ट्रले असल नागरिक पाउँछ,’ उनले भने ।

संघका अध्यक्ष कार्कीले स्थानीय सरकार र नागरिक समाजको सहयोग प्राप्त भएमा श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उत्थानमा संघले थप योगदान गर्न सक्ने बताए । संघले विगत २५ वर्षदेखि सहरी क्षेत्रका बालश्रमिक, घरेलु कामदार र तिनका परिवारको हितमा काम गर्दै आएको महासचिव शोभा गौतमले जानकारी दिइन् 

प्रतिक्रिया