रञ्जितालाई पद र सदस्यबाटै हटाउँदै रेशमले बुवा लालवीरलाई बनाए नाउपा अध्यक्ष

भ्वाइस अफ गण्डकी

काठमाडौं । 


नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टी संरक्षक रेशम चौधरीले काठमाडौंमा आयोजित राष्ट्रिय भेलामार्फत आफ्नी पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष पद र साधारण सदस्यबाट समेत निष्कासन गर्दै आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष घोषणा गरेका छन् ।

रेशम पक्षले बुधबारदेखि आयोजना गरेको प्रथम राष्ट्रिय भेलाले रञ्जितालाई कारबाही गर्ने निर्णय गरेको हो । यसअघि बहुमत केन्द्रीय सदस्यले बैठक बोलाउन दिएको २४ घण्टे अल्टिमेटम छल्न रञ्जिताले आफू अस्वस्थ रहेको भन्दै वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् ।

रेशमले रञ्जिताको उक्त कदमलाई ‘केन्द्रीय समिति बैठक फेस नगरी गरिएको आफूखुसी निर्णय’ भन्दै अस्वीकार गरेका थिए । उनले बुधबार भेलामा भनेका थिए, ‘रञ्जिताजीले केन्द्रीय कमिटी बोलाएर जवाफ दिनुपर्थ्यो, कार्यवाहक तोकेकोमा मलाई चित्त बुझेको छैन ।’

यद्यपि, बुवालाई अध्यक्ष बनाउने निर्णय आफ्नो व्यक्तिगत चाहना नभई भेलामा सहभागी साथीहरूको भएको रेशमको दाबी छ ।

श्रीमान्-श्रीमतीबीचको यो शक्ति संघर्षले पार्टीलाई विभाजनको संघारमा पुर्‍याएको छ । रेशमको निर्णयप्रति रञ्जिताले असन्तुष्टि जनाइसकेकी छन् । उनले बिहीबार संसदीय दलका नेता गंगाराम चौधरीसँग स्पष्टीकरण सोधेकी छन्, जसले यो विवाद अब संसदीय तहमा पनि प्रवेश गरेको संकेत गर्छ ।

२०७९ को निर्वाचनबाटै प्रतिनिधिसभामा चार सिट र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेश सभामा समेत बलियो उपस्थिति जनाएको नाउपा स्थापनाको केही वर्षमै गम्भीर संकटमा फसेको छ । श्रीमान-श्रीमतीबीचको राजनीतिक र व्यक्तिगत सम्बन्धको टकरावले पार्टीको भविष्य नै अन्योलमा परेको हो ।

प्रतिक्रिया