पूर्वन्यायाधीश आचार्यको ‘स्मृतिका विम्बहरू’ सार्वजनिक

voiceofgandaki

माछापुच्छ्रे (कास्की) । पूर्व उच्च अदालतका न्यायाधीश एवं लेखक विनोदमोहन आचार्यको कृति ‘स्मृतिका विम्बहरू’ शुक्रबार विमोचन गरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको प्रांगणमा आयोजित समारोहमा संस्कृतिविद् डा. जगमान गुरुङसहितका अतिथिले कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन्।

विमोचन समारोहमा प्रमुख अतिथि डा. गुरुङ, नेपाल सरकारका पूर्वसचिव डा. बाबुराम आचार्य र माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ सहभागी थिए।

विमोचित कृतिमा लेखक आचार्यको करिब ३९ वर्ष लामो न्याय सेवाको अनुभव, सामाजिक अनुभूति र साहित्यिक संवेदना समेटिएको छ। पुस्तकमा अग्रजहरूप्रतिको श्रद्धा, पितृभक्ति, गाउँको इतिहास, सांस्कृतिक परिचय तथा सामाजिक मूल्यमान्यताको गहिरो अभिलेखन गरिएको छ।

कार्यक्रममा वक्ताहरूले कृतिले भावी पुस्तालाई आफ्ना पुर्खा, थातथलो र सांस्कृतिक पहिचानप्रति सजग बनाउने विश्वास व्यक्त गरे। उनीहरूले लेखकको साहित्यिक र सामाजिक योगदानको प्रशंसासमेत गरे। लेखक आचार्यले माछापुच्छ्रे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि पारिवारिक रूपमा जग्गादान गरेर समाजप्रतिको उत्तरदायित्व निर्वाह गरेको विषयलाई वक्ताहरूले स्मरण गरेका थिए।

कार्यक्रममा स्रष्टा धर्मराज थापाका सुपुत्र मदन थापा र गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए। ढाकामोहन आचार्यकी नातिनी प्रभा आचार्यले स्वागत गरेको कार्यक्रममा लेखकको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरिएको थियो।

प्रतिक्रिया