पोखराको मेलामा विज्ञको चिन्ता : प्रविधि बन्यो ‘बाँदरको हातमा नरिवल’

voiceofgandaki

पोखरा– पोखरामा जारी व्यापार मेलामा सहभागी विज्ञहरूले नेपालमा प्रविधिको दुरुपयोगले अपराध बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले प्रविधि समाज विकास र सहज जीवनयापनको आधार भए पनि नेपालको सन्दर्भमा यो ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको टिप्पणी गरे ।

पोखराको नयाँबजारमा सञ्चालन भइरहेको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटक’ अन्तर्गत आयोजित बहसमा वक्ताहरूले यस्तो धारणा राखेका हुन् । ‘राष्ट्रको जागरण : प्रविधि र समाजको पुस्तान्तरण’ विषयक संवादमा बोल्दै उनीहरूले प्रविधिको सही प्रयोग हुन नसक्दा हिंसाको डरलाग्दो हतियार बनिरहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले प्रविधिको गलत प्रयोगले देशको सार्वभौमसत्ता नै खतरामा पर्न सक्ने औंल्याए । हालैको ‘जेनजी’ (Gen-Z) आन्दोलनतर्फ सङ्केत गर्दै उनले भने, ‘देशमा ७ घण्टामा सत्ता परिवर्तन हुनुमा प्रविधिको भूमिका रह्यो । तर, यस आन्दोलनले मुलुकको ६३ खर्ब कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को एकतिहाइ बराबर क्षति पुर्‍याएको छ । यो नोक्सानी भरपाई गर्न लामो समय लाग्नेछ ।’

सामाजिक अभियन्ता विना सिलवालले मोबाइल र सामाजिक सञ्जालको दुरुपयोगले धेरैको घरबार बिगारेको बताइन् । ‘मोबाइलबाट प्रेमी–प्रेमिकाका अन्तरंग तस्बिर खिच्ने र मन नमिल्दा सामाजिक सञ्जालमा छरपस्ट पारिदिने प्रवृत्ति बढेको छ,’ उनले भनिन्, ‘यसले समाजमा विकृति निम्त्याएको छ ।’

सूचना प्रविधिका उपप्राध्यापक विष्णुहरि पौडेलले कक्षाकोठाको शिक्षा र व्यावहारिक जीवनमा प्रयोग हुने प्रविधिबीच तालमेल नमिल्दा समस्या आएको बताए । यद्यपि, उनले प्रविधिले अवसरको ढोका खोलेको भन्दै यसको सही वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए । क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले प्रविधिको दुरुपयोग रोक्न प्रयोगकर्ता स्वयम् सचेत हुनुपर्ने र बालबालिकालाई निगरानीमा राख्नुपर्ने सुझाव दिए ।

आज कृषिको बहस र मगर सांस्कृतिक कार्यक्रम

मेला आयोजक पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार शनिबार (आज) कृषिको व्यवसायीकरणसम्बन्धी विशेष बहस हुँदैछ । ‘कृषिको व्यवसायीकरण कहिले र कसरी ?’ विषयक परिसंवादमा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव बासुदेव रेग्मी र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकाल वक्ताका रूपमा रहनेछन् । कार्यक्रमको सहजीकरण पत्रकार भरत कोइरालाले गर्नेछन् ।

यस्तै, शनिबार नै नेपाल मगर संघ कास्कीले विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए । मेलाका प्रचार प्रसार संयोजक मनोहरि पौडेलले पोखराको अर्थतन्त्र चलायमान बनाउन मेला फलदायी हुने विश्वास व्यक्त गरे । मेला आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया