पोखरा । रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा महानगरपालिका–१३ आर्वास्थित आर्वा विजय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको छ । क्लबले आफ्नो स्थापना दिवसको अवसर पारेर विद्यालयलाई एक थान कम्प्युटर र ७५ जना विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको हो ।
विद्यार्थीको शैक्षिक स्तर उकास्न र प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक पद्मावती अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र वडा सदस्य रजनी परियारले रोटरी क्लबप्रति आभार व्यक्त गरे । उनीहरूले यस्तो सहयोगले विद्यालयको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
क्लबका प्रेसिडेन्ट इलेक्ट्र राजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष दीपेन्द्र शर्माले क्लबले शिक्षा र स्वास्थ्यका साथै ग्रामीण भेगका गृहिणीलाई विद्युतीय चुलो वितरण गरेर प्रभावकारी काम गरेको बताए ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू सुवास सिग्देल, अब्राहम खान, टुवराज बास्तोला र पुष्पकमल पौडेललगायतले क्लबले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि सामाजिक सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
क्लबका अध्यक्ष अमृत बास्तोलाले सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने बताए । उनले स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले क्लबका सदस्यहरूलाई समाजसेवामा लाग्न हौसला मिलेको उल्लेख गरे ।
९ पुस २०८२, बुधबार ०८:१२ मा प्रकाशित