पोखरा । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर हिमालय नेपाल नेत्रज्योति संघ कास्की, हिमालय आँखा अस्पतालले पोखरास्थित महिला सीप विकास केन्द्रमा आबद्ध महिलाहरूका लागि आँखा सचेतना कार्यक्रम गरेको छ । आइतबार केन्द्रकै कार्यालयमा आयोजित कार्यक्रममा अस्पतालका विशेषज्ञ चिकित्सकहरूले आँखाको स्याहार, उपचार पद्धति र सम्भावित रोगहरूका बारेमा जानकारी दिएका छन् ।

कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङ, डा. इलिया श्रेष्ठ, डा. हरिमाया गुरुङ र डा. अञ्जु गुरुङले आँखामा हुन सक्ने समस्या, बच्ने उपाय र विशेष गरी ’सापु’ रोगका बारेमा प्रस्तुतीकरण दिएका थिए । घरका सबै सदस्यको हेरचाह र स्वास्थ्यको जिम्मा प्रायः महिलाकै काँधमा हुने भएकाले उनीहरूलाई सचेत गराउन यो कार्यक्रम केन्द्रित गरिएको अस्पतालले जनाएको छ ।

मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले नारी दिवसको यस वर्षको नारा ‘गिभ टु गेन’ को चर्चा गर्दै महिलामाथिको लगानीले परिवार र समाजलाई नै प्रतिफल दिने बताइन् । ‘एउटा पुरुष साक्षर भए एक व्यक्ति शिक्षित हुन्छ, तर एउटी महिला शिक्षित भए पूरै परिवार साक्षर हुन्छ,’ उनले भनिन्, ‘सरकार र समाजले महिलाको शिक्षा, स्वास्थ्य र उद्यममा लगानी बढाउनु पर्छ ।’ उनले १० महिनाअघि अस्पतालको कार्यशालाका लागि आवश्यक ब्याग खोज्ने क्रममा यस केन्द्रका महिलाहरूले बुनेका सामग्री उत्कृष्ट पाएपछि सचेतना कार्यक्रमका लागि पनि यसै स्थानलाई रोजेको सुनाइन् ।

सीप विकास केन्द्रकी कार्यकारी निर्देशक रामकली खड्काले अस्पताल टोलीलाई स्वागत गर्दै महिलाहरूको स्वास्थ्यप्रति संवेदनशीलता देखाएर केन्द्रलाई रोजेकामा आभार व्यक्त गरिन् । कार्यक्रममा उपस्थित महिलाहरूले आँखामा आउने आकस्मिक समस्या र त्यसको प्राथमिक उपचारका बारेमा जिज्ञासा राखेका थिए । अस्पतालले आगामी दिनमा पनि यस्ता समुदायलक्षित सचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ