काठमाडौं ।
भदौ २३ र २४ गतेको चर्चित जेन–जी आन्दोलन र त्यसपछिको हिंसात्मक घटनाको अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीसँग बयान लिएको छ । आयोगले सोमबार सिंहदरबारस्थित कार्यालयमै बोलाएर कार्कीसँग सोधपुछ गरेको हो ।
घटना हुँदा कार्की प्रहरी नायब महानिरीक्षक (डिआइजी) का रूपमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमान्ड सम्हालिरहेका थिए । आयोगले भदौ २३ गते एकै दिन ७६ जना युवाको हत्या हुनुमा प्रहरीको भूमिका र भोलिपल्ट (२४ गते) भएको व्यापक विध्वंस किन रोक्न सकिएन भन्ने विषयमा उनीसँग सवालजवाफ गरेको छ ।
बयान लम्बियो
आयोगका प्रवक्ता विज्ञान शर्माका अनुसार सोमबार कार्कीको बयान पूरा हुन सकेन । मंगलबार पनि उनलाई उपस्थित गराएर बाँकी बयान लिइनेछ । स्मरण रहोस्, कार्कीलाई सरकारले गत कात्तिक २४ गते मात्रै आइजिपी नियुक्त गरेको थियो । आयोगले यसअघि तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङसँग पनि बयान लिइसकेको छ ।
ओली र लेखकलाई बोलाउने तयारी
अनुसन्धानको सुई अब उच्च राजनीतिक नेतृत्वतिर सोझिएको छ । आयोगले घटनाका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ ।
आयोगले ओली र लेखकलाई काठमाडौं उपत्यका नछाड्न निर्देशनसमेत दिएको छ । प्रवक्ता शर्माले भने, ‘हामी उहाँहरूलाई पर्सिसम्म बयानका लागि बोलाउँछौँ, त्यसका लागि पत्राचार गर्ने तयारी छ ।’
पूर्वप्रधानमन्त्री ओलीले आफू आयोगसमक्ष बयान दिन नजाने बताउँदै आएका छन् । तर, उनकै कार्यकालमा ७६ जना नवयुवाको ज्यान गएको र कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकासहित सयौँ सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी भएको भन्दै राज्यको प्रमुखका हैसियतले उनले जिम्मेवारी लिनुपर्ने आवाज उठिरहेको छ ।
२३ मङ्सिर २०८२, सोमबार ०८:५८ मा प्रकाशित